अन्योलमा एमाले–माओवादी एकीकरण



मधुसूदन रायमाझी, काठमाडौं

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादीबीचको पार्टी एकीकरणमा अन्योल सृजना भएको छ। पार्टी एकीकरणका लागि दुई पार्टीबीच बस्ने भनिएको एकता संयोजक समितिको बैठक नै बस्न सकेको छैन। निर्वाचनअघि चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने ६ बुँदे सहमति गरेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको विषयमा थप आशंका, अविश्वास र अन्योल बढेको बताइएको छ।

नेकपा एमालेले पार्टी एकता र नयाँ सरकार गठनको कामलाई एकसाथ अगाडि लैजानुपर्ने निर्णय गरेको छ भने नेकपा माओवादी केन्द्रले सरकार गठनअघि नै पार्टी एकीकरणको खाकासहित मात्र सरकारमा जाने निर्णय गरेको छ।

पार्टी एकीकरणलाई भन्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउनुपर्ने गृहकार्यमा जुट्नुभएको छ। एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिँदै आएको छ।
एमालेले पार्टी एकतालाई भन्दा बढी सरकारलाई नै प्राथमिकता दिएको छ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकार गठन र पार्टी एकीकरण एक साथ अगाडि लैजाने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी एकीकरण र सरकार गठनको दुवै काम एकसाथ अगाडि बढाउने गरी पार्टीभित्र परामर्श भइरहेको छ।’ एमालेले पार्टी एकीकरणमा कम ध्यान दिएको आशंका माओवादी केन्द्रले गरेको छ।
सरकार गठन र एकताका लागि दुई दलको बीचमा हुनुपर्ने संवाद पनि कम हुँदै गएको छ। पार्टी एकताका लागि शीर्ष तहमा गठन गरेको एकता संयोजन समितिको बैठकले पनि गति लिन सकेको छैन।

पार्टी एकीकरणको विषयमा एमालेभित्र फरक–फरक धारणा बनेको छ। अध्यक्ष ओली तत्काल सरकारको नेतृत्व लिएर मात्र पार्टी एकता प्रक्रियालाई विस्तारै अगाडि बढाउँदै लैजाने तयारीमा हुनुहुन्छ भने वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल तत्काल पार्टी एकीकरण गरेर अगाडि बढ्नुपर्ने पक्षमा देखिनुभएको छ।

दुई दलबीच भएको सहमतिमा सरकारको नेतृत्व आलोपालो गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेपछि दुई पार्टीबीच थप दूरी बढेको देखिन्छ। ओलीले सरकारको नेतृत्व गर्दा पनि आलोपालो गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो।

प्रचण्डले सार्वजनिक गरेको आलोपालो गर्ने सहमतिप्रति एमाले अध्यक्ष ओलीले खण्डन गर्नुभएको छ। प्रचण्डले तत्काल पार्टी एकता गरेर पार्टीको नेतृत्व गर्दै र अध्यक्ष ओलीले सरकार सञ्चालन गर्नुपर्ने बताउँदै आउनुभएको छ।

तर अध्यक्ष ओलीले पार्टीको नेतृत्व सहजरूपमा नदिने मनस्थिति बनाउनुभएको बताइएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एकता संयोजक समितिको बैठक बस्ने बारेमा आफूलाई धेरै जानकारी नभएको बताउनुभयो। एकता संयोजक समितिको बैठक कहिले बस्छ भन्ने नेपाल समाचारपत्रसँग जिज्ञाशामा उहाँले भन्नुभयो– ‘बैठक बसेपछि थाहा भइहाल्छ नि, कहिले केही पनि छलफल भएको छैन।’
एकीकरणका लागि दुई पार्टीबीच आपसी विश्वास, विचार, राजनीतिक कार्यदिशा र सिद्धान्तको बारेमा बहस र छलफल हुनुको सट्टा एमाले र माओवादी केन्द्रको बीचमा शंका र अन्योल बढेको छ।

माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीले सरकार गठनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको भन्दै असन्तुष्टि जनाएको छ। नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुई पार्टीबीचको पार्टी एकीकरणका लागि अनौपचारिक छलफल भइरहेको बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुई पार्टीको बीचमा पार्टी एकीकरण हुन्छ, यसमा कुनै आशंका छैन, पार्टी अध्यक्ष प्रचण्ड काठमाडौंबाहिर रहनुभएकाले बैठक बस्न नसकेको हो, छिट्टै एकता संयोजक समितिको बैठक बस्छ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्दै पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेपछि माओवादी केन्द्र र एमालेभित्रकै केही नेताहरू एकता भाँड्ने कसरतमा लागेको बताइएको छ।

माओवादी केन्द्रभित्र कृष्णबहादुर महरा, मातृका यादव, गोपाल किराती र विश्वभक्त दुवाल (आहुती) र नेकपा एमालेभित्र महासचिव ईश्वर पोखरेललगायत समूह तत्काल पार्टी एकीकरण गर्न नहुने पक्षमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्