अभियान उद्घाटन भएकै दिन ४५ टन फोहोर उठाइयो



रामधन राई, खोटाङ । खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकालाई सफा र सुन्दर बनाउन बृहत सरसफाई सप्ताह उद्घाटन भएकै दिन ४५ टन फोहोर उठाईएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट ‘पुरानो फोहोर उठाउ’ अभियान शुरु भएको बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो ।

दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क)का राजन राई र क्षेत्र नम्बर २ (ख)का रामकुमार राई (पासाङ)ले सडकमा थुप्रिएको फोहोर उठाएर अभियानको उद्घाटन गरेका थिए । बजार वरपर जथाभावी फालिएको फोहोर उठाएर सोही नरगरपालिकाको वडा नम्बर ५ लफ्याङस्थित व्यवस्थापन केन्द्रमा पु¥याएर फालिएको छ ।
फोहोर नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने भएकाले वर्षौंदेखि थुपारिएको फोहोर हटाउन अभियान थालिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो ।

दिक्तेलबजारबाट शुरु गरिएको सरसफाई सप्ताह १५ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पाँच वर्ष्भित्र नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानका साथ सरसफाई अभियान थालिएको हो ।
सरसफाईलाई निरन्तरता दिन जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा नगर प्रमुख रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु र नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले सरसफाई सम्बन्धी गतिविधिको अनुगमन गर्दै सरसफाईयुक्त कार्यालय, शिक्षण संस्था, सफा घरलाई पुरस्कारका लागि सिफारिस गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्