ललितपुरसँग काठमाडौं किंग्स पराजित



नेपाल समाचारपत्र
काठमाडौं
लंकाका अनुभवी खेलाडी टिममा सहभागी गराएको काठमाडौं किंग्स इलेभेनले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा पराजय बेहोरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुर प्याट्रियट्सले काठमाडौं किंग्सलाई ७ विकेटले हराएको हो। काठमाडौंले पहिले ब्याटिङ गरेर ९० रनको लक्ष्य दिएकोमा ललितपुरले १६ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। टोलीको जितमा भारतीय खेलाडी जयकिसन कोल्सावालाले ४४ रनको योगदान दिए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए। ३० बलको सामना गरेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे।

ओपनर पवज सर्राफ शून्य रनमा पहिलो विकेटको रुपमा आउट भए पनि कप्तान ज्ञानेन्द्र र जयकिसान दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीको जितको आधार तयार पारेका थिए। काठमाडौंका लागि श्रीलंकन अक्षु फर्नान्डोले २ र सोमपाल कामीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो। काठमाडौंको शुरुआत नै खराब भएको थियो। दोस्रो ओभरमा ७ रन बनाएको सागर पुनलाई गुमाएको काठमाडौंले तेस्रो ओभरमा नरेश बुढाएर (०) को विकेट पतनको आत्मसात गर्नुपर्यो। कप्तान महरूफले आशाअनुरूप टोलीलाई सहयोग गर्न सकेनन्। उनी सात रनमा पवेलियन फर्केका थिए। काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन बनाए। २८ बलको सामना गरेका अमितले ४ चौका प्रहार गरे।

ललितपुरका बलर ललित नारायण राजवंशीले ४ ओभरमा १४ रन खर्चंदै ३ विकेट लिए। मेहबुब आलमले २ विकेट लिँदा योगेश नागरले १ विकेट लिए। ललित नारायणले म्यान अफ दि म्याच घोषित भएर १० हजार रुपियाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्