संवैधानिक राजसंस्था र निर्वाचित प्रधानमन्त्रीः लुइँटेल



तारानाथ लुइँटेल
उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार, एकीकृत राप्रपा (राष्ट्रवादी)

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले राजसंस्था र हिन्दुराष्ट्रलाई प्रमुख एजेन्डा बनाएर निर्वाचनमा होमिएको छ। राष्ट्रिय एकताको प्रतीकको रूपमा राष्ट्रिय चरित्र भएको संवैधानिक राजसंस्था र निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था नेपालमा स्थापित गर्ने भन्दै एराप्रपा (राष्ट्रवादी) चुनाव प्रचार–प्रसारमा जुटेको छ। ८४ प्रतिशत हिन्दु भएको मूलुकमा पुनः हिन्दुराष्ट्र स्थापना गराउने एजेन्डा एराप्रपा (राष्ट्रवादी) ले लिएको छ। यसै विषयमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभातर्फका मानुपातिक उम्मेदवार तारानाथ लुइँटेलसँग गरिएका कुराकानीको सारांशः

एकीकृत राप्रपा (राष्ट्रवादी) लाई नै भोट दिनुपर्ने कारण के हो ?

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भए पनि अहिलेसम्म देशले अपेक्षाकृत रूपमा विकासमा फड्को मार्न सकेको छैन। देशको विकास हुन नसक्नुको मूल कारण अस्थिर सरकार हो। ९–९ महिनामा सरकार परिवर्तन गर्ने त परम्परा नै बन्यो। अब यो परम्पराको अन्त्य गरेर जनताद्वारा निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ। सधैं राजनीतिक अस्थिरतामा सरकार बनाउने र ढाल्ने कामको अन्त्य गर्नका लागि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनु आवश्यक छ। संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि एराप्रपा (राष्ट्रवादी) लाई मतदान गर्न आवश्यक छ।

संविधानमा नै धर्मनिरपक्ष राष्ट्र र गणतन्त्र उल्लेख भइसकेको अवस्थामा तपाईहरूले पुनः राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा किन उठाउँदै हुनुहुन्छ ?

हामीले देशको आवश्यकताअनुसार नै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रलाई एजेन्डा बनाएका हौं। यो हाम्रो देशको माग हो। अहिले नेपालमा भएको अधिकांश ठूला दलहरु सबै गणतन्त्रवादी छन्। ती दलहरुले लिएको एजेन्डा आयातित एजेन्डा मात्र हुन्। नेपालमा धर्म, संस्कृति, रीतिरिवाजलाई पाखा लगाएर आज नेपालमा धर्मनिरपेक्षता लादेको हुनाले त्यसविरुद्ध हामीले यो एजेन्डा अगाडि सारेका हौं। हामीले हिन्दुको मात्र होइन बौद्ध, किराँत, मुसलमान, जैन सबै धर्मालम्बीहरुलाई साथ लिएर सबै धर्मको हित चिताएर सनातन हिन्दुराष्ट्र नेपालमा स्थापित गर्न सकिन्छ भन्ने विश्वासको साथ निर्वाचनमा यो एजेन्डा अगाडि सारेका छौं।

देशमा भ्रष्टाचार बढ्दै गएको छ। सबै राजनीतिक दलले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने त भन्छन् तर नियन्त्रण गर्ने दिशामा कदम भने चालेको पाइँदैन नि ?

भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने हाम्रो एजेन्डा हो। राजनीतिक दलहरुले भ्रष्टाचारीलाई तह लगाएका छैनन्। भ्रष्टाचारीहरुले राजनीतिक दलहरुलाई चलाइरहेका छन्। यो निर्मूल हुनुपर्छ। जो सरकारमा गए पनि यो रोकिएको छैन। पहिला एक हातले खान्थे, अहिले दुई हातले खान्छन्। ३५ अर्ब एनसेल काण्ड, २२ अर्ब राजस्व छुट, ६ इन्चको ग्राबेलमा २ इन्चको ग्राबेल गर्नेजस्ता कार्यले भ्रष्टाचार गर्ने संस्कार मौलाउँदै गएको छ। हाम्रो पार्टी निर्वाचित भएको अवस्थामा भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्नका लागि हामीले प्राथमिकता दिन्छौं। यो हाम्रो प्रतिबद्धता हो।

निर्वाचनमा लोकप्रिय एजेन्डा लिएर भोट माग्न जाने तर निर्वाचनपछि चुप लागेर बस्ने परम्परा झाँगिँदै जानुको कारण के हो ?

हाम्रो पार्टीले एजेन्डा उठाउने मात्र होइन, कार्यान्वयन पनि गर्छ। यसका लागि आधारसहित हामीले हाम्रो एजेन्डा अगाडि बढाएका छौं। नेपालाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। पशुपति, जनकपुरधाम, लुम्बनीलगायतका धार्मिक क्षेत्रलाई जोडेर पनि हाम्रो देशको विकास गर्न सकिन्छ। सुन्दर देशलाई आज कुरूप बनाउने काम भएको छ। ८४ प्रतिशत हिन्दु भएको देशलाई आज धर्मनिरपेक्ष राष्ट्र बनाइएको छ। हाम्रो पार्टी निर्वाचित भएको अवस्थामा प्रतिबद्धता जाहेर गर्ने मात्र होइन कार्यान्वय पनि गरेर देखाउँछौं।

प्रतिक्रिया दिनुहोस्