जनताले पुराना पार्टीको विकल्प खोजेका छन्ः महर्जन



नेपाल सुन चाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी रमेश महर्जन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभाका लागि समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको छ। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका महर्जनसँग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाईं एक जना प्रतिष्ठित व्यवसायी राजनीतिमा किन आउनुभएको हो ?

विशेषतः आर्थिक, सामाजिक र मुलुकको समृद्धिका लागि म राजनीतिमा आएको हुँ। हरेक क्षेत्रमा विद्यमान समस्या समाधान गर्ने भनेको राजनीतिले नै हो। व्यवसायिक संगठन चलाउने क्रममा हरेक राजनीतिक दल र तिनका उम्मेदवारहरु सम्पर्क भइरहेको हुन्छ। तर, आफ्नो व्यवसाय वा व्यावसायिक संगठनमात्र माथि गएर पुगेन। सिंगो मुलुक नै आर्थिक, सामाजिक समृद्धिको दिशामा अघि बढ्नुपर्दछ। हरेक नीतिको मुख्य नीति भनेका राजनीति हो। नीति नै ठीक नभएपछि अरू काम ठीक हुने कुरो भएन। मुलुकको राजनीतिक कहिले नसुध्रिने अनि अरू क्षेत्र सुध्रिने आशा गर्नु पनि बेकार रहेछ। अहिले प्रभुत्वमा रहेका पुराना राजनीतिक दल र तिनका नेताहरुले दसौं वर्ष बितिइसक्दा पनि आम जनताको जीवनस्तर माथि आउन सकेको छैन। त्यसैले नीति निर्माण तहमा आफू र आफूजस्ता विचार राख्ने मानिस पुग्नुपर्दछ भनेर आम जनता र समाजको सेवा गर्न राजनीतिमा आएको हुँ।

राजनीतिमा प्रवेश गर्ने क्रममा विवेकशील साझा पार्टी नै किन ?

मुलुकमा लोकतन्त्र, गणतन्त्र, संघीयता आइसकेको छ। तर, पनि मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्नेको पाइएन। लोकतन्त्रमा जनताको राज हुनुपर्नेमा दल विशेष वा नेता विशेषको राज भइरहेको छ। आफन्त, नातागोता मिलेर राज्यको स्रोत साधन दोहन गर्ने प्रवृति झन्–झन् मौलाउँदै गएको छ। राजनीतिमा मूल्य र मान्यता ह्रास हुँदै गइहेको छ। भ्रष्टाचार झन्–झन् बढ्दै गएको छ। त्यसलाई चुनौती दिन नयाँ पार्टीको आवश्यक रहेको छ। यसले गर्दा विवेकशील साझा पार्टी रोजेको हुँ। यस पार्टीले नैतिक मूल्य मान्यतासहितको राजनीति सिद्धान्त अघि सारेको छ। विभिन्न पेशा व्यवसायमा प्रतिष्ठित र शिद्धहस्त मानिसहरु भएका यस पार्टीले मात्र अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दछ। यस पार्टीले पद्धति, पारदर्शिता, इमान्दारी⁄निष्ठा, उत्कृष्टता र जनताका पीर मर्का बुझ्ने गुण आवश्यक रहेको धारणा अघि सारेको छ। यसका विचार, सिद्धान्त मन परेर म साझा विवेकशील पार्टीमा आएको हुँ।

घरदैलोको क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?

राजनीतिक पार्टी भन्ने बितिक्कै शुरुमा मतदाताले निराशा प्रकट गरेका थिए। चुनावमा भोट माग्न आउने चुनाव जितेपछि आफ्नो क्षेत्रमा नाकमुख नदेखाउने नेताको चरित्रले निराश भइसकेको बताएका छन्।

हामी यस्तो पार्टी होइन, जनताको समस्या बुझ्न राजनीतिमा आएका हौं भनेर भन्दै गएपछि मतदाताले विश्वास गरेको अवस्था छ। राजनीतिलाई पेशा बनाउन नभई कुनै न कुनै पेशा व्यवसायमा सफल भएका जमातहरुको पार्टी भनेर सम्झाउँदै गएपछि मतदाता उत्साहित भएको पायौं। मतदाताबाट राम्रो प्रतिक्रिया आइरहेको छ। विभिन्न उद्योगी पेशा, व्यवसायी, पत्रकार, लेखक, अनुसन्धानकर्ता जस्ता विभिन्न क्षेत्र त्यसमाथि विशेषतः युवा पुस्ताको बाहुल्यता भएको पार्टीका रूपमा मतदाताले बुझ्दै गएका छन्। आफ्ना छोराछोरीले बाबुआमालाई तराजुमा भोट हाल्नुभनेको पनि आमाबुबाले सुनाएका छन्। साझा विवेकशील पार्टीको उपस्थितिले आम जनतामाझ उत्साह छाएको छ। जति चुनाव जिते पनि जनताको हितमा खासै काम गर्ने पुराना पार्टीको वर्चस्वलाई यस पार्टीले चुनौती दिन सफल भएको छ।

यसपटकको चुनावमा तपाईं र तपाईंको पार्टीलाई किन निर्वाचित गराउनुपर्दछ ?

‘सुन जोख्ने सय पटक मानिस जोख्ने एक पटक’ भन्ने उखान नै छ। तर, उही पार्टीका उही नेतालाई हरेक चुनावमा मतदाताले जिताउँदै आएका छन्। मतदाताले पनि चुनावमा एक पटक उत्साह र बाँकी समय निराशामा बिताउनुपरेको छ। जनताको आधारभूत समस्या ज्यूँका त्यूँ रहेको छ। त्यसैले आम मतदाताले पुराना दल र उम्मेदवारको विकल्प खोजेका छन्। यसको परिपूर्तिका लागि साझा विवेकशील पार्टी आएको हो। जनताको समस्या बुझ्ने, निःस्वार्थ भावले आम जनताको सेवा गर्ने एउटा शक्ति अहिले चाहिएको छ। राष्ट्र समृद्ध, जनताको भरोसाको केन्द्र बनाउन, आम नेपाल र नेपालीको उन्नति हितका लागि यस पार्टीलाई जिताउनु आवश्यक रहेको छ। उही पार्टी र नेताले पटक–पटक चुनाव जित्दा पनि जनताका लागि खासै काम गरेन भने फेरि उही व्यक्तिलाई जिताउनु भनेको मूर्खता हो। त्यसैले नयाँ, वैकल्पिक शक्तिलाई जिताउन आवश्यक रहेको छ। यसले नै जनताको आफ्नो भविष्य र सन्ततिको भविष्यलाई पनि राम्रो गर्नेछ।

राजनीतिलाई पेशा र व्यवसायका रूपमा नलिइकन समाज सेवाको रूपमा लिन व्यावहारिकरूपमा सम्भव छ ?

सम्भव किन नहुनु । इच्छाशक्ति, प्रतिबद्धता र नैतिक चरित्र भएमा राजनीतिलाई समाज सेवाको माध्यम बनाउन सकिन्छ। कुनै पेशा व्यवसायमा काम गर्दै राजनीतिमा आएको खण्डमा देश र जनताको हितका लागि राजनीति गर्न सकिन्छ। आफू बाँच्नका लागि पेशा व्यवसाय र समाज सेवाका लागि राजनीति भन्ने मान्यता स्थापित गर्न सके कुनै पनि व्यक्तिले भ्रष्ट्राचार गर्दैन। नेताहरुको जीवनशैली र सम्पत्तिको स्रोत अपारदर्शी रहेको छ। यसको साटो राजनीतिलाई नै पेशा व्यवसाय बनाउने हो भने भ्रष्ट्राचार, व्यक्ति विशेष वा सीमित स्वार्थको इशारामा चल्ने हुन्छ। अहिले भइरहेको पनि त्यही हो। राजनीतिमा लाग्नु भनेको नै राज्यको स्रोत र साधन हडप्नु हो भने अर्थमा जनताले लिइरहेका छन्। नेता विशेषको यस्तो चरित्र गर्दाले नै जनताले राजनीतिलाई फोहोरी खेलका रूपमा बुझेका छन्। राजनीति नै विकृति विसंगतिको पोको बनेपछि त्यसको प्रभाव त अरू क्षेत्रमा पनि पर्ने नै भयो। निःस्वार्थ भएर देश र जनताका लागि केही गर्न सकिन्छ भनेर नै म राजनीतिमा आएको हुँ।

वयश्क माझ कसरी चुनाव प्रचार–प्रसार गरिरहनुभएको छ ?

सामाजिक सञ्जालमार्फत बढी प्रचार–प्रसार गरिरहेका छौं। अहिले सबै उमेर समूहको सामाजिक सञ्जालमा पहुँच बढ्दै गएको छ। युवा पुस्ताले आफ्ना बुबाआमा र परिवारका अन्य सदस्यलाई पनि विवेकशील साझा पार्टी अहिलेको विकल्पका रूपमा बुझाउँदै गएका छन्। यसका साथै हामीले घरदैलो, कोठेभेला, भेटघाट र संवाद कार्यक्रम आयोजना गरिरहेका छौं। महिला समूहहरुलाई सक्रिय बनाएर गृहणी महिलाहरुसँग संवाद गरिरहेका छौं।

प्रतिनिधिसभाको समानुपातिकमा तपाईंको उम्मेदवारी किन ?

म नेपाल सुन चाँदी तथा रत्न आभूषण महासंघको अध्यक्ष भएको नाताले देशभरको व्यवसायी माझ परिचित छु। त्यसले समानुपातिक मत तान्न सजिलो हुनेछ भनेर यसपटक पार्टीले विश्वास गरी जिम्मेवारी दिएको हो। यसअघिको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिँदा मैले १५ हजारको हाराहारीमा मत पाएको थिएँ। एक महिनाको तयारीमा त्यति पाउनुलाई मैले उपलब्धिका रूपमा लिएको छु। प्रत्यक्षमा उम्मेदवारी दिएको खण्डमा मेरो ध्यान क्षेत्रमा जानेछ। समानुपातिक भएकाले देशभरका उद्योगी, व्यवसायीहरुसँग मेरो निरन्तर सम्पर्क भइरहेको छ। साँच्चै नै देश, समाज र समुदाय सबैको हितका लागि केही गर्ने अठोटका साथ म र मेरो पार्टी उभिएको छ।

प्रतिक्रिया दिनुहोस्