१९औं ईमेज अवार्ड, कर्मा र अञ्जु अब्बल जंगमलाई लाइफटाइम अचिभमेन्ट



दामोदर न्यौपाने

१९औं संस्करणको ईमेज अवार्ड भव्य समारोहका बीच सम्पन्न भएको छ। नेपाली सांगीतिक क्षेत्रमा प्रतिष्ठित मानिएको अवार्ड समारोहमा २३ विधामा पुरस्कार प्रदान गरिएको थियो।

विभिन्न मनोरञ्जनात्मक गीत, संगीत र आकर्षक नृत्यका साथ सोल्टी क्राउन प्लाजामा सम्पन्न समारोहमा राष्ट्रिय भावनाले ओतप्रोत गीत विधामा कर्णदासले हाम्रो नेपाल बोलको गीतबाट अवार्ड चुमे भने वर्षकै उत्कृष्ट शब्द विधामा चिसो शहरबाट शीतल कादम्बिनीले अवार्ड उचालिन्।



ढिलो गरी शुरू भएको समारोहमा वर्षकै उत्कृष्ट संगीतको अवार्ड आज फेरिबाट हरि लम्सालले बाजी मारे भने वर्षकै उत्कृष्ट संगीत संयोजनको अवार्ड तस्बिर तिम्रोबाट गोपाल रसाइलीले जिते। वर्षकै उत्कृष्ट मुद्रणको अवार्ड कुटुमा कुटु बोलको फिल्मी गीतबाट श्यामश्वेत रसाइलीले पाए भने उत्कृष्ट नवकलाकारको अवार्ड म हाँसेको हुन्छुबाट सुरेश लामाले लगे। त्यस्तै युगल तथा सामूहिक गायनको अवार्ड मुर्कुसदास र मेलिना राईले चुम्दा फिल्मी गीतको अवार्ड पुरानो डुंगाको निर जहिले रिसाउनीको पोल्टामा पर्यो। वर्षकै उत्कृष्ट गीतको अवार्ड साइँलीबाट हेमन्त रानाले चुमे भने एल्बमको अवार्ड क्यानभासबाट सुरजकुमार थापालाई गयो।

त्यस्तै लोकगीत विधाअन्तर्गत गायनको अवार्ड आमाबाट पशुपति शर्माले जिते भने लोकदोहोरी गायनको अवार्ड कृष्ण रेउले र जुनु रिजालले जिते। लोकदोहोरी संकलनको अवार्ड शिरफूलबाट खड्ग गर्बुजाको हातमा पर्यो भने लोकदोहोरी गीतको अवार्ड उही खोलीमा पानीबाट राजन गुरुङले जिते।

चमकदमकका साथ साढे ३ घण्टासम्म चलेको कार्यक्रममा नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएवापत संगीतकार दीपक जंगमलाई नगद १ लाख रुपियाँसहित लाइफटाइम अचिभमेन्टको अवार्ड प्रदान गरियो। ‘एउटा स्रष्टाको मूल्यांकनलाई सम्मान प्रदान गरेर मलाई ठूलो ऊर्जा थपिदिनुभएको छ। यसले सांगीतिक क्षेत्रमा मेरो जिम्मेवारी थपिदिएको छ।’ –अवार्ड ग्रहण गरेपछि जंगमले भने।

कार्यक्रममा म्युजिक भिडियोको अवार्ड म होबाट जीवन थापाले जिते भने भिडियो छायाकारको अवार्ड मनको दागबाट धिरजजंग शाहले जिते। भिडियो निर्देशनको अवार्ड तिलहरीबाट निकेश खड्काले चुमे भने वर्षकै उत्कृष्ट म्युजिक भिडियोको अवार्ड साइँलीबाट जीआरएफले हात पार्यो।

त्यसै गरी पुरुष गायनको अवार्ड सताऊ या मताऊबाट कर्मा ग्याल्जेन बोम्जन गुरुङ पुरस्कृत हुँदा महिला गायनमा म रुँदा हास्नेबाट अञ्जु पन्तले अवार्ड चुमिन्। पप गीतअन्तर्गत पुरुष गायनमा एइयो रैयो सइयोबाट धर्मेन्द सेवानले बाजी मारे भने महिला पप गायनको अवार्ड तिम्रो र मेरो सम्बन्धबाट सोना अमात्यले जितिन्।

कार्यक्रममा दीपक वज्राचार्य र हेमन्त रानाले गायन प्रस्तुत गर्दा माहोल थप सांगीतिक बन्न पुगेको थियो भने हास्य अभिनेता जितु नेपालको प्रहसन पनि दर्शकलाई मज्जाले हँसाउन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्