बोल्ट बार्सिलोनाविरुद्ध खेल्दै



 

उसेन बोल्ट विश्वकै चर्चित धावक हुन्। तर, उनी फुटबल खेल्न मन पराउँछन् भन्ने कुरा सायद कमैलाई थाहा होला। उनी फुटबल खेल्न चाहन्छन्। यो सपना उनका लागि पूरा हुने भएको छ। यदि उनी फिट भएमा मात्रै। लन्डनमा भएको विश्व च्याम्पियनसिप एथ्लेटिक्समा उनले ४ गुणा १ सय मिटर रिले दौडमा दौडँदा उनलाई ह्यामस्ट्रिङ भएको थियो। बिदाइ यो दौड उनले पूरा पनि गर्न पाएनन्। उनी निराश भएका थिए त्यतिबेला। उनको आँखा रसाएको थियो।

बोल्टलाई म्यानचेस्टर युनाइटेडले फुटबल खेल्न प्रस्ताव पठाइसकेको छ। सेप्टेम्बर २ मा ओल्ड ट्राफोर्डमा हुने बार्सिलेनाविरुद्धको खेलमा उनलाई सहभागी गराउने म्यानचेस्टर युनाइटेडको चाहना रहेको छ। बोल्ट इंग्लिस क्लबको जर्सी लगाएर खेल्न पाउने धोको पूरा हुँदै छ। उनले ३ साताभित्र आफूलाई तन्दुरुस्त राख्नु पनि जरुरी छ।

बोल्ट रेड डेभिल्स (म्यानचेस्टर युनाइटेडको उपनाम) को समर्थक पनि हुन्। धेरै पटक उनले व्यवसायिक फुटबल खेल्ने पनि कुरा गरेका छन्। अहिले उनको एथ्लेटिक्स करिअर पनि सकिएको छ। उनले आफ्नो सपनाको रंगमञ्चमा केही गरी देखाउने मौका आएको छ। यसअघि उनले ओल्ड ट्राफोर्डमा सन् २०१२ मा युनाइटेडको जर्सी लाएका थिए। उनको जर्सी पछाडि बोल्ट ९.६३ लेखिएको थियो। यो नम्बर सन् २०१२ मै लन्डनमा सम्पन्न ओलम्पिकमा गोल्ड मेडल पाउँदा यही समय उनले खर्चेका थिए।

युनाइटेडका पूर्वकप्तान ब्रायन रोब्सनले टोलीको व्यवस्थापन गर्नेछन्। जसमा पूर्वखेलाडीहरु एन्डी कोले, एडविन भान डेर सार, पउल स्कोल्स, जेस्पर ब्लोमकिस्ट, डेनिस इर्बिन, रोनी जोनसेन, ड्वाइट योर्के, वेस ब्राउन र फिल नेभिलले खेल्नेछन्। यसमध्ये कति जना खेलाडी च्याम्पियन्स लिग विजेता पनि हुन्। अन्य पूर्वरेड डेभिल्स स्टारसँग बोल्टले खेल्नेछन्। ती हुन् लुइस साहा, मिकाइल सिलभेस्ट्रे, क्विन्टन फोर्चुन र डियन डब्लिन।

बार्सिलोनाको तर्फबाट जोस मारी बाकेरोले व्यवस्थापन गर्नेछन्। म्यानचेस्टर युनाइटेड फाउन्डेसनको सहयोगमा हुने खेलका लागि बार्सिलोनाबाट गाइजका मेनडिएटा, इरिक अबिडाल, मिगेल एन्जेल नाडाल र गेरगे पोपेस्कुले खेल्नेछन्।
बोल्ट यस वर्षको शुरुआतमा साथीहरुसँग आफू फुटबलमा राम्रो भएको पनि बताएका छन्। उनले मौका पाएमा आफू फुटबलर हुने पनि बताएका थिए। उनले भनेका थिए– ‘म जुनसुकै स्तरमा पनि खेल्न सक्छु। मलाई राम्रो प्रशिक्षण पाएमा मैले राम्रो स्तरकै फुटबल खेल्न सक्छु। म विश्वमा उत्कृष्ट फुटबलर बन्न गइरहेको छु भन्न लागेको पनि होइन। तर, पनि म राम्रै स्तरमा हुनेछु। हुन सक्छ वायने रुनीको स्तरमा ।’

खेलको प्रत्यक्ष प्रसारण लन्डनस्थित एमयू टीभीमा हुनेछ। टिकट मूल्य एडल्टका लागि २० पाउन्ड (नेपाली २६ सय रुपियाँ) र अन्डर १६ का लागि ५ पाउन्ड (करिब नेपाली ६ सय ५० रुपियाँ) तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्