काबुल, (एजेन्सी)
अफगान सरकारसँग एउटा शान्ति सम्झौतामा हस्ताक्षर गरेको आठ महिनापछि भेटरान योद्धा गुल्बुद्धिन हिक्मत्यार बिहीबार काबुल फर्केका छन्। अफगानिस्तानको दोस्रो ठूलो लडाकू समूह हेज्व ए इस्लामीको नेतृत्व गर्ने इस्लामिक योद्धा हिक्मत्यारविरुद्ध थुप्रै हत्याकाण्डको आरोप लगाइएको छ।
पछिल्लो सम्झौताअनुसार उनले हिंसा त्याग्ने र संविधानलाई स्वीकार गर्ने सहमति जनाएका छन्। केही राजनीतिक विश्लेषकहरूले यस सम्झौतालाई अफगानिस्तानलाई एक कदम अघि बढाउने हिसाबले लिएका छन् भने केहीले यसको कारण सरकारभित्रै विभाजना आउन सक्ने अनुमान गरेका छन्।
कडा सुरक्षा प्रबन्धबीच जलालावादबाट काबुल आएका उनी चढेको सवारी साधनलाई एउटा अफगान सैनिक हेलिकोप्टरले सुरक्षा प्रदान गरेको थियो।
राष्ट्रपति असरफ घानीले राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा उनलाई स्वागत गर्दै शान्ति प्रक्रिया स्विकारेकामा उनलाई धन्यवाद दिएका छन्। उनी सो कार्यक्रमको शुरुमै राष्ट्रिय गान बजाइँदा त्यसको सम्मान गदै उठ्नु नै यस सम्झौताको ठूलो उपलब्धि भएको बीबीसी अफगान सर्भिसका अध्यक्षले बताएका छन्।
उनकै जस्तो विचारधारा राख्ने अन्य अधिकांश धार्मिक नेताले राष्ट्रिय गानको सम्मान नगर्ने गरेको बुझिएको छ। आज उनको काबुलस्थित एक प्रतिष्ठित मस्जिदमा प्रार्थना गर्ने कार्यक्रम रहेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनी अफगानिस्तानको आधुनिक इतिहासका निकै विवादास्पद व्यक्ति हुन्।
उनी २० वर्षभन्दा लामो समयपछि काबुल फर्केका हुन्। सन् १९९६ मा उनलाई तालिवानले काबुल छाड्न बाध्य बनाएको थियो। असीको दशकमा तत्कालीन सोभियत संघको कब्जाविरुद्ध मुजाहिद्धिन लडाकूहरूको नेतृत्व गर्ने सात जना नेतामध्ये यिनी पनि एक हुन्।











प्रतिक्रिया