मोगादिसु, (एजेन्सी)
आफ्नै सुरक्षाकर्मीले चलाएको गोली लागेर सोमालियाका सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।
सोमालियाको राष्ट्रपति कार्यालयनजिकै सुरक्षाकर्मीको गोली लागेर उनको मृत्यु भएको मोगादिसुका मेयरका प्रवक्ता अब्दिफताह ओमार हालानेले बताएका छन्।
लडाकूहरूले चलाएको गाडी भनेर सुरक्षाकर्मी झुक्केको कारण यो अप्रिय घटना भएको उनको भनाइ छ। ओमार हालानेले मृतक मन्त्रीप्रति श्रद्धाञ्जली व्यक्त गदै भनेका छन्– ‘मोगादिसुमा आफ्नै सुरक्षकर्मीको गोली लागेर मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको मृत्यु भएको खबर पुष्टि गर्नुपर्दा मलाई निकै दुःख लागेको छ। सुरक्षा निकायहरूले यस विषयमा गम्भीर अनुसन्धान शुरु गरिसकेको छ। यस घटनाको छानबिनका लागि सरकारले विशेष टोली गठन गरेको छ।’
सोमालियाका एक जना वरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न यस घटनामा संलग्न चार जना सुरक्षाकर्मीलाई निलम्बन गरी नियन्त्रणमा लिइएको बताएका छन्।
सिराजी सोमालियाको संघीय सदनका सबैभन्दा कान्छो सदस्य थिए भने गत मार्चमा मन्त्री परिषद्को सदस्यमा नियुक्त भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए।











प्रतिक्रिया