कोरियाली प्रायद्विप विवाद सत्ता परिवर्तनको प्रयास नगर्न अमेरिकालाई चेतावनी

0
Shares

सोल, (एजेन्सी)
उत्तर कोरियाली अखबार मिन्जु जोसोनले अमेरिकालाई सत्ता परिवर्तनको प्रयास नगर्न सचेत गराएको छ। ट्रम्प प्रशासनले उत्तर कोरियामा नेतृत्ग परिवर्तनको आफ्नो सैन्य नीतिको प्रमुख उद्देश्य बनाएको र त्यसको प्राप्तिका लागि प्रयासमा लागेको अखबारले लेखेको छ।

यसैबीच दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीले अमेरिकी वेबसाइट ३८ नर्थलाई उद्धृत गर्दै उत्तर कोरियाको परमाणु परीक्षणस्थलमा काम भइरहेको जनाएको छ।

ताजा स्याटलाइट तस्वीरमा त्यहाँ धेरै मान्छेको चहलपहल देख्न सकिन्छ जुन सामान्य होइन र यो उत्तर कोरियाको प्रोपोगान्डाको हिस्सा हो कि भन्ने लाग्छ, एजेन्सीले जनाएको छ।

चीनलाई पनि आलोचना
यसैबीच उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पहिलो पटक चीनको नामै लिएर आलोचना गरेको छ। चीनलाई उसको संयमको परीक्षा नलिन अखबारले चेतावनी दिएको छ।

केसीएनए अर्थात् कोरियन सेन्ट्रल न्युज एजेन्सीले मे ३ मा चिनियाँ सञ्चारमाध्यमहरूले उत्तर कोरियाको परमाणु खतराको विषयलाई बढाइचढाइ गरी प्रस्तुत गरेको आरोप लगाएको छ।

गत फेब्रअरीमा केसीएनएले चीनको आलोचना गरेको थियो। चीनको नाम उल्लेख नगरीकन अमेरिकाको धुनमा नाचिरहेको एजेन्सीले लेखेको छ। केही क्षेत्रीय सञ्चारमाध्यमले पनि उत्तर कोरियाका तर्फबाट भएको आलोचनालाई स्थान दिएको छ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि यसअघि उत्तर कोरियाले चीनको आलोचना गर्दा छिमेकी मुलुकको प्रयोग गर्दै आइरहेको जनाएको छ।

चीनलाई सचेत गर्दै लेखेका छन्– ‘डीपीआरके–चीनको सम्बन्ध कमजोर गर्ने गैर जिम्मेवारी कामको परणामका बारेमा चीनले सोच्नुपर्छ। पिपल्स डेली र ग्लोबल टाइम्सजस्ता अखबारले दुई देशको सम्बन्धलाई नोक्सान पुर्याइरहेका छन्।’

यसको जवाफमा चीनको राष्ट्रवादी मानिने अखबार ग्लोबल टाइम्सले लेखेको छ– चीन उत्तर कोरियासँग कुनै प्रकारको बहसमा जानु आवश्यक छैन। चीन आफ्नो विचार स्पष्ट गर्नुपर्छ। उत्तर कोरियालाई पनि उसले अर्को परमाणु परीक्षण गरेमा चीन यसअघि कहिल्यै नउठाएको कदम चाल्न बाध्य हुने प्रस्ट पार्नुपर्छ।

चीन उत्तर कोरियाका समर्थक मानिन्छ। तर चीनले परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि आर्थिक दबाब दिन थालेको छ। यसले दुई देशबीचको सम्बन्धमा गिरावट आएको छ।