जिन बोतलमा अत्यधिक अल्कोहल

0
Shares

टोरोन्टो, (एजेन्सी)
केही जिनको बोतलमा उल्लेख गरिएभन्दा झन्डै दोब्बर परिमाणमा अल्कोहल भेटिएको कारण क्यानडाका बजारबाट धमाधम निकै लोकप्रिय लन्डन ड्राइ जिन संकलन गरिँदै गरेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
अधिकारीहरूले १ दशमलव १४ लिटरको बम्बे सफायर लन्डन ड्राइ जिनमा ४० प्रतिशत अल्कोहल हुनुपर्नेमा ७७ प्रतिशत अल्कोहल भेटिएको बताएका छन्। तिनीहरूले प्रोडक्सन लाइनबाटै समस्या देखिएको बताएका छन्।

तर क्यानाडाली खाद्यान्न अनुगमन निकायले यसको सेवनबाट कोही बिरामी परेको खबर भने कतैबाट नआएको बताएका छन्। बम्बे सफायरको तिरण गर्ने ड्रिंक्स जायन्ट बाकार्डीले यस्तो त्रुटीपूर्ण जिन क्यानाडामा मात्र बिक्री भइरहेको हुनुपर्ने जनाएको छ।
ओन्तारियो प्रान्तका स्टोरहरूबाट सबैभन्दा पहिले यस्तो जिन हटाइँदै छ। यसरी संकलन गरिएका जिन नष्ट गरिने वा जुन पसलमा किनिएको हो त्यहीँ फर्काइने ओन्तारियो लिकर कन्ट्रोल बोर्डले जनाएको छ।

यसै वर्ष अल्कोहलको परमाण बढी भएकाले रक्सी फिर्ता लिइएको दोस्रो पटक हो। गत मार्चमा जर्जियन बे भोड्काको बोतल पनि यसरी नै फर्काइएको थियो। अनुगमनकर्ताहरूले बोटलमा ४० प्रतिशत अल्कोहल उल्लेख गरिएको तर ती भोड्कामा ८१ प्रतिशत अल्कोहल भेटिएको दाबी गरेका थिए।