नाबालिका बिहे गर्ने युवक मण्डपबाटै पक्राउ



गोकुल घोरसाइने, बारा
बालिका बिहे गर्न खोज्ने एक युवक बारामा विवाह मण्डपबाटै पक्राउ परेका छन्। बालविवाह गर्दै गर्दा शुक्रबार राति मण्डपबाट प्रहरीको फन्दामा परेका कलैया उपमहानगरपालिका–१३ का २५ वर्षीय बेहुला रामनरेश यादवलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरी कारबाही प्रक्रियाबारे जानकारी गराएको हो।

प्रहरीले जिल्लाको सुवर्ण गाउँपालिका–२ स्थित विवाह घरबाट अन्दाजी ९ वर्षीया बेहुलीसहित यादवलाई राति १० बजे नियन्त्रणमा लिएको थियो। यादवमाथि मुलुकी ऐन विवाहवारी महलको कसुर नम्बर २ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ। ‘बालिकाको उमेर यकिन भइसकेको छैन’, प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले भने– ‘१० वर्षभन्दा कम रहेछ भने ६ महिनादेखि ३ वर्षसम्म कैद र ९ देखि १० हजार रुपियाँसम्म जरिवाना हुनेछ।’ उपरीक्षक उप्रेतीले यादवलाई थुनामा र बालिकालाई प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा आफ्नै हजुरआमाको साथमा सँगै राखेर थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।

प्रहरीले बालिका र बेहुला यादवका आफन्त र नातेदार शुक्रबार रातिबाट नै फरार बनेको र खोजी भइरहेको बताएको छ। प्रहरी पुगेको थाहा पाएपछि पुरोहितसहित जन्ती र दुवैतर्फका आफन्त विवाह मण्डपबाट भागेका थिए। दुवै पक्षका अभिभावकको सहमतिमा कानुनविपरीत बालविवाह गर्न खोजिएको पाइएकाले आफन्तमाथि पनि कारबाही हुने प्रहरीको भनाइ छ।
यादव विवाहका लागि ७ दर्जन जन्तीसहित साँझ बेहुलीको घरमा पुगेका थिए। बालविवाह कानुनविपरीत र दण्डनीय भए पनि जिल्लामा जारी रहँदै आएकाले नियन्त्रणका लागि कडा कदम उठाउनुपरेको प्रहरीको भनाइ छ। प्रहरी कारबाहीको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने स्थानीय अधिकारकर्मीले पनि सराहना गरेका छन्। ‘बालिका विवाह गर्न खोज्नेलाई पक्राउ गरेर प्रहरीले साहसिक काम गरेको छ’, स्थानीय अधिकारकर्मी बबिता जैसवालले भनिन्– ‘दोषीमाथि कडा कारबाही पनि हुनुपर्छ।’

सरकारी र गैरसरकारी संघसंस्थाले नियन्त्रणका लागि भन्दै लामो समयदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह गर्ने क्रम रोकिएको छैन। अभिभावकाको मञ्जुरीमा जिल्लामा वर्षेनी सयौं बालबालिकाको हाकाहाकी विवाह हुने गरेको छ। प्रहरीको पछिल्लो कारबाहीले नियन्त्रणका लागि थप टेवा पुग्ने अर्का अधिकारकर्मी भैयाराम यादव बताउँछन्। नाबालिका विवाह प्रयास गर्ने युवक मण्डपबाट नै पक्राउ परेको जिल्लामा यो पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस्