तल्लाघरे सान्नानी धर्मस्थलीमा



लोक सांस्कृति महत्त्व बोकेको मारुनी गीत कमै बजारमा आउने गर्छन्, त्यसमाथि पनि बजारमा आएका सबै मारुनी गीतमाथि म्युजिक भिडियो खासै बन्ने गर्दैन। निर्भाना टिभी नेपालले भने व्यवसायिक गीतको म्युजिक भिडियोसँगै लोक र सांस्कृतिक महत्त्व बोकेको गीतहरुमाथि पनि म्युजिक भिडियो निर्माण गरी बजारमा ल्याइरहेको छ। यसै क्रममा लगातार झण्डै आधा दर्जन म्युजिक भिडियो निर्माण गर्ने क्रममा निर्भाना टिभी नेपालले हालै गायक कमल किरणद्वारा गाइएको मारुनी गीतमाथि म्युजिक भिडियो निर्माण गरेको छ।

राजधानीस्थित बालाजुमाथिको धर्मस्थलीको मनोरम गाउँमा खिचिएको मारुनी नृत्यको म्युजिक भिडियोको सुटिङलाई लगातारको वर्षाले बाधा पुर्याउने प्रयास गरिरहेको थियो। तर, जसरी हुन्छ मारुनीलाई भिडियो उतार्न धर्मस्थली पुगेको सुटिङ युनिट भने वर्षालाई पनि झुक्याउँदै काम अगाडि बढाइरहेको थियो।

धर्मस्थलीका गह्रा, खेत, डाँडा–काँडा जहाँ–जहाँ हुन्छ, सुटिङ गरेर यो टोली काम तमाम गरिरहेको थियो। निर्भाना टिभी नेपालका अध्यक्ष रमेश श्रेष्ठ स्वयं वर्षाले बाधा नपुर्याउने र पानीले नदेखिने स्थलको खोजी गर्दै सुटिङ टोलीलाई व्यस्त बनाइरहेका थिए। भिडियोका निर्देशक तथा नृत्य निर्देशक मनाङ गुरुङ भिडियोका कलाकार र कोरसलाई आफैं नाच्न सिकाई टेक लिइरहेका थिए। उनको एक्सनको आवाजसँगै गीत, बज्ने, क्यामरा चल्ने, कलाकार र कोरसहरु नाच्नेदेखि लिएर प्राविधिकहरु परिचालन हुने काम स्वतःस्फूर्त”पमा हुन्थे भने उनको एक्सनको आवाजसँगै सबै काम आपसेआप रोकिन्थे। उनको निर्देशनबमोजिम हालका व्यस्त छायांकार नवराज उप्रेती भिडियोलाई उत्कृष्ट दिलाउन क्यामराका एंगल फेरिरहेका थिए।

तल्लाघरे सान्नानीको गाजल लाउने बानी केटा हो
मतिर नै निशानी ताकेर नजरैले हानी ऐया नजरैले हानी।
यस्तै शब्दका मारुनी गीतलाई उत्कृष्ट म्युजिक भिडियोको रूप दिन पूरै टोली गम्भीरतापूर्वक सक्रिय भइरहेको थियो। त्यसैले जति वर्षा हुन्थ्यो, कामको गति त्यति नै बढ्थ्यो। वर्षा थोरैमात्र रोकिँदा पनि कामको गति झनै बढ्थ्यो, समय जो ढल्कँदै थियो। आधुनिक गीत गाएर स्थापित भएका गायक कमल किरणले आफूलाई अर्को विधाको गीत पनि गाउन सक्ने क्षमतावान गायकका रूपमा चिनाउन यसपटक मारुनी गीत गाएका रहेछन्। मनोज राजको शब्द र संगीत रहेको पूर्वेली मारुनीमा रमाइलाई शब्दहरुलाई लयमा रूपान्तरण गरिएको छ। गायक कमल किरणले भने गीत–संगीतको बजारमा नेपाली संस्कृतिको गीतको कमी भएकाले मारुनी गीत गाएको बताए।

मारुनीको म्युजिक भिडियोमा गायक किरणका साथामा रीना थापा मगर, हेरुका लामा, गायिका सुनीता गुरुङ, अष्ट महर्जनलगायतले अभिनय र नृत्य गरेका छन्। यो गीत र म्युजिक भिडियोको बजार व्यवस्थापन निर्भाना कला केन्द्रले गर्नेछ। भिडियोको सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्