अंश जोगाउन पत्नीको हत्याः प्रहरी



नेपाल समाचारपत्र
बारा
अहेव बबिताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ। सर्लाही गोडैता–११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले जागिरको सिलसिलामा एक वर्षदेखि वीरगन्ज बस्दै आएकी २८ वर्षीया पत्नी बबितालाई पैसा खर्च गरी भाडाका मान्छे प्रयोग गरेर हत्या गराएको बारा प्रहरी अनुसन्धानबाट खुलेको हो। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाको अनुसन्धानबारे जानकारी गराएको हो। बबिता वीरगन्जस्थित एक स्वास्थ्य चौकीमा कार्यरत थिइन्।

हत्या आरोपमा पक्ताउ परेका अमरेन्द्र र उनका काकाका छोरा ज्ञानेन्द्रको बयानबाट हत्याको कारणबारे खुलेको हो। थप अनुसन्धानका लागि बारा प्रहरीले दुवैलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ। घटनास्थल पर्सामा भएकाले थप अनुसन्धान गर्न फाइलसँगै आरोपितलाई उतै पठाइएको प्रहरीले जनायो। प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बबिताले सम्बन्ध विच्छेदसहित सर्लाही जिल्लामा अंश मुद्दा दिएकाले र अदालतबाट अंश दिने आदेश भएपछि उत्तः अंश जोगाउनलाई अमरेन्द्रले नातामा भाइ पर्नेबाट हत्या गराएको बताए। गत असोजमा बबिताले अंशसहित सम्बन्ध विच्छेदका लागि मुद्दा दिएकी थिइन्।

तीन महिनापछि पुस ११ मा अंश दिने सहमति भई मिलापत्र भएको थियो। त्यसपछि अमरेन्द्रले अंश दिन आनाकानी गर्दै आएका थिए। सर्लाहीस्थित एक गाउँको विद्यालयमा अंग्रजी विषयका उनी शिक्षक हुन्। ‘पतिकै मुख्य योजनामा हत्या गरिएको हो,’ उनले भने– ‘२ लाख खर्चेर अन्यबाट हत्या गराएका हुन्।’ बबिता जागिरे भएर उसले अंश लिएर अर्कै विवाह गर्न सक्ने नाकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको उनले बताए।

‘हत्या गराउन सर्लाहीको सेन्चुरी बैंकबाट वीरगन्ज बस्ने ज्ञानेन्द्रलाई १ लाखको सुपारी पठाएका थिए। हत्यापछि बाँकी १ लाख दिने तय भएको थियो,’ उनले भने– ‘ज्ञानेन्द्रले आफ्नो जन्मदिन भएको भन्दै भाउजूपर्ने बबितालाई वीरगन्जकै कुम्हाल टोलस्थित आफ्नो कोठामा बोलाएर राति धारिलो हतियार र डोरीले घाँटी कसेर हत्या गरेका थिए।’ प्रहरीका अनुसार बबिताले आफूलाई जीउज्यानको असुरक्षा महसुस गरेपछि जिल्ला प्रशासनमा शान्ति सुरक्षाका लागि चैत ८ मा निवेदन दिएकी थिइन्। निवेदन दिएको तेस्रो दिनमा उनको हत्या भएको थियो। हत्या घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनायो।

प्रतिक्रिया दिनुहोस्