मधेसी–मुश्लिम एमालेमा प्रवेश



नेपाल समाचारपत्र
बाँके
चार सय बढी मधेसी–मुश्लिम समुदायका मानिसहरू मंगलबार एकैपटक एमालेमा प्रवेश गरेका छन्। नेपालगञ्ज–१८, कारकादोबाट गाडीमा आएका चार सय २५ जना मधेसी–मुश्लिम समुदायका मानिसहरू पार्टी कार्यालयमै आएर एमालेमा प्रवेश गरेका हुन्। स्थानीय अगुवा दीपक बर्माको नेतृत्वमा कौशलकुमार बर्मा, अशोककुमार बर्मा, धु्रवप्रसाद गोडिया, अनिस मनिहार, रंगु साहु, राधाकान्त बर्मा, मन्साराम बर्मा, दीपक ढुंगानालगायत एमालेमा प्रवेश गरेका छन्।

एमाले पार्टी कार्यालयमै बोलाएर उनीहरू सबैलाई बैकल्पिक केन्द्रीय सदस्यद्वय दिनेश यादव र मो. हारुन र जिल्ला अध्यक्ष अशोक कोइरालाले अविरको टीका लगाएर पार्टी प्रवेश गराउनुभयो। सो अवसरमा पूर्वराज्यमन्त्री एवं बैकल्पिक केन्द्रीय सदस्य यादव र जिल्ला अध्यक्ष कोइरालाले हिमाल, पहाड र तराईको समाज र संस्कृतिलाई एकताबद्ध गर्दै राष्ट्रलाई समृद्ध बनाउन सक्ने पार्टी एमाले मात्र भएको बताउनुभयो। नेताद्वयले भारतले चरम र अमानवीय नाकाबन्दी गर्दा धैर्यपूर्वक संकटको सामाना गरेर सम्पूर्ण देशलाई नयाँ उर्जा दिन एमाले सफल भएको बताउनुभयो।

एमालेमा प्रवेश गरेका युवा दीपक बर्माले दूरदृष्टि भएको र देशको विकास गर्न सक्ने पार्टी एमाले भएकाले यसले नै हिमाल, पहाड र तराईका जनतालाई मिलाएर अगाडि लैजाने बताउनुभयो। उहाँले आसन्न स्थानीय चुनावमा एमालेलाई आ–आफ्नो ठाउँबाट जिताउन आह्वान गर्नुभयो।

तराईमा केही राजनीतिक दलले एमालेलाई मधेस विरोधी पार्टी भनिरहेका बेला बाँकेमा भने एकैपटक मधेसी–मुश्लिमको प्रवेशले उत्साह थपेको एमालेका नेताहरूले बताए। एमालेका नेता दत्तप्रसाद आचार्यले एमालेले नै जनताको काम गर्छ भन्ने मधेसी–मुश्लिम समुदायमा परिसकेको बताउनुभयो। एमाले, बाँकेले संविधान जारी हुँदा त्यसमा भएका मधेसी, मुश्लिम, थारु समुदायको हक अधिकारका बारे र पछि कार्यान्वयनका लागि तराई मधेसमा विभिन्न अभियानहरू चलाएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तराई मधेसकै विकासका लागि बजेट र योजनाहरू पारेको अगुवाहरू बताउँछन्।

कांग्रेसले बनायो उमेद्वारको मापदण्ड
नेपाली कांग्रेस, बाँकेले उम्मेदवारका लागि मापदण्ड बनाएको छ। पार्टीका नेपालगञ्ज नगर प्रमुख प्रशान्त विष्टका अनुसार, लोकप्रियता, निरन्तरता र स्वच्छ छवि भएकालाई उम्मेदवार छनोट गरिने मापदण्ड बनाइएको छ।
ठूलो पार्टी भएकाले कांग्रेसमा पनि उम्मेदवारको लर्को लागेको छ। उसले ‘जित्ने’ उम्मेदवारको खोजी गरिरहेको छ। पार्टीका वरिष्ठ नेता, सांसद, पूर्वसांसदहरू बसेर बनाएको मापदण्डअनुसार नै उम्मेदवार छनोट गरिनेछ। त्यसका लागि उम्मेदवारका आकांक्षीहरूसँग निवेदन माग्ने तयारी भएको छ। ‘निवेदन लिन्छौं र जो मापदण्डअनुसार अब्बल हुन्छ, त्यहीले टिकट पाउँछ,’ कांग्रेस नेताहरू भन्छन्।

प्रतिक्रिया दिनुहोस्