“करको विषयमा उपेन्द्र महतो मात्रै होइन प्रचण्ड भए पनि छोडिन्न”



“करको विषयमा उपेन्द्र महतो मात्रै होइन प्रचण्ड भए पनि छोडिन्न”

रामहरि खतिवडा
सांसद तथा लेखा समितिका सदस्य,
नेपाली कांग्रेस

ओखलढुंगाका सांसद रामहरि खतिवडा नेपाली कांग्रेसभित्र स्पष्ट र खरो वक्ताका रूपमा परिचित हुनुहुन्छ। तीन दशकअघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका खतिवडा सञ्चारमाध्यमहरूमा छाइरहने नेताका रूपमा समेत चिनिनुहुन्छ। सार्वजनिक लेखा समितिका सदस्यसमेत रहनुभएका उहाँसँग हामीले यसपालि कुराकानी गरेका छौं। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाईं र सुरेश तामाङले समसामयिक विषयमा गरेको कुराकानीका मुख्य अंशहरूः

कांग्रेस त हाँसको न कुखुराको चाल भयो भनेर टिप्पणी हुन थालेको छ। कांग्रेसको सांसदको रूपमा भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?

नेपालको प्रजातान्त्रिक आन्दोलन र इतिहासमा नेपाली कांग्रेसले खेलेको भूमिका थाहा नपाउने मान्छेहरूको टिप्पणी हो यो। म स्मरण गराउन चाहन्छु– नेपालमा राणा शासनको अन्त्यको पहल नेपाली कांग्रेसको नेतृत्वमा भयो। त्यो पछिका सबै राजनीतिक आन्दोलनका नेतृत्वहरू हेर्नूस् कांग्रेस कै नेतृत्वमा भएको छ। २०१५ सालमा हामीले बहुमत ल्याएर गरेको शासनलाई राजाले कू गरेपछिका आन्दोलनहरू हाम्रै नेतृत्वमा भएका छन्। त्यसपछि ३० वर्षको पञ्चायत ढाल्नका लागि अरू शक्तिहरू पञ्चायतसँग मिल्दा पनि त्यो शक्तिलाई सधैं एउटा टाढाबाट बसेर कसैलाई डर त्रास थियो भने नेपाली कांग्रेसको मात्रै थियो।

२०४८ सालको आन्दोलनको नेतृत्व गरेर हामी अलिकता सुदृढरूपमा प्रस्तुत भएपछि नै राजा बाध्य भएर बहुदलीय व्यवस्था दिन लागेका हुन्। त्यतिमात्रै होइन शसस्त्र द्वन्द्वमा गएर करिब १५ हजार मान्छे मारेको माओवादीलाई शान्ति प्रक्रयामा ल्याउने नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो।

दलित महिला जनजाति र मधेसीदेखि सबैलाई पार्टीको केन्द्रीय समितिमा पुर्याउने एउटा पद्धतिको शुरुआत नेपाली कांग्रेसले गर्यो। अहिले त्यसलाई फलोअप गर्दै सबै पार्टीहरू त्यो पद्धतिमा आए। हामीले ७० वर्षसम्म नबनेको संविधान पहिलो पार्टी बनेपछि हाम्रै नेतृत्वमा बनायौं।

कांग्रेसकै कारण संविधान कार्यान्वयन पनि हाँस न कुखुराको चालमा छ भनिन्छ नि ?

संविधान कार्यान्वयन गर्ने बेलामा पनि उग्र कुरा गरेर मात्रै हुँदैन। यहाँ राष्ट्रवादको कुरा गरिएका कुरा आए। संसद्मा बोल्ने क्रममा एमाले नेता भीम रावलले राष्ट्रवादका कुरा गर्दा कांग्रेसलाई लम्पसारवाद भन्नुभयो। म उहाँलाई विनम्रतापूर्वक एउटा शब्द अभिबोध गर्न चहान्छु। जुन पार्टीको नाम नेपालका नेताका नाम राख्न नसकेर विदेशी नेताका नामबाट पार्टीको नामकरण गर्ने पार्टी चाहीं राष्ट्रवादी रे। हामी नेपाली कांग्रेस बीपीको फोटो लिएर हिँडेका छौं। जो नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री भए। त्यो मान्छेको फोटो लिएर नेपाली कांग्रेस भन्ने पार्टीचाहिँ अराष्ट्रवादी भयौं रे।

पार्टीको नाम राख्ने मित्रहरू काशीनाथ, द्वारिकानाथ कहाँ छन् ? त्यो नाम राख्नेचाहिँ एकदम राष्ट्रवादी, हामी देशमा बसेर क्रान्तिकारी कदम चाल्नेहरूचाहिँ अराष्ट्रवादी। हिजो, नेपालमा सत्याग्रहको राजनीतिको सिद्धान्त कसले प्रतिपादन गरे ? सबै मान्छे इन्डियाबाट राजनीति गर्छन् भनेर बीपी स्वदेशमै आएर हिजो पञ्चायतको अन्त्य गरेको हो कि होइन ? कृष्णप्रसाद भट्टराईले स्वदेशमै बसेर बहुदलीय प्रजातन्त्र ल्याएको हो कि होइन ? यो पार्टीलाई अराष्ट्रवादी, अरू पार्टी राष्ट्रवादी ? अनि हामी कुखुरा न हाँसको चाल भयौं ? मलाई चाहिँ हाँसो लाग्छ।

पार्टीको आन्तरिक गतिविधिलाई हेर्ने हो भने पनि कांग्रेस सुस्त नै देखिन्छ नि ?

संविधान निर्माणका क्रममा नेपाली कांग्रेसलाई जनताले विश्वास गरेको पहिलो पार्टी बनाएको हो। संविधान जारी भएपछि अब पनि कांग्रेस पहिलो पार्टी भएर नै अघि बढ्नुपर्छ। हामीले गरेको जस जनताको बीचमा लानुपर्दछ। चुनाव हुने पद्धतिमा अरूलाई ल्यायौं भन्ने जस नेपाली जनताको बीचमा लिएर जानुपर्दछ।

पार्टीमा नयाँ नेतृत्व आएको एक वर्षसम्म केन्द्रीय कार्यसमितिले समेत पूर्णता पाएको छैन। मनोनित पदाधिकारीको चयन पनि भएको छैन। विभिन्न विभागहरू गठन भएका छैनन्। साथै, कार्यसम्पादन समितिलगायत महत्त्वपूर्ण समितिहरू अझै बनेका छैनन्। यो हेर्दाचाहिँ नेतृत्व कतै–कतै अल्मलिरहेको जस्तो आभाष हुन्छ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको छ। निर्वाचनको मिति पनि नजिकिँदै छ। यो अवस्थामा पार्टीका शीर्ष नेताहरू जुगाको लडाइँ गरिरहँदा कांग्रेस कमजोर हँुदैन ?

तपाईंहरूलाई अहिले पनि अनुरोध गर्छु, कांग्रेस बाँचेको कार्यकर्ताको कारणले हो। नेताजीहरूका कारणले होइन। नेताजीहरू कहाँ–कहाँ अल्मलिनुहुन्छ। कार्यकर्ताहरू गाउँ–गाउँमै अल्मलिएर संगठन बचाएर बस्नुभएको छ। त्यो कुरा नेताहरूलाई पनि ज्ञान हुनुपर्यो।

फेरि पनि म अनुरोध गर्न चहान्छु, अब शेरबहादुर देउवा, रामचन्द्र पौडेल दाइहरू जो–जो हाम्रो नेता हुनुहुन्छ उहाँहरूले अब ५⁄१० वर्ष सक्रिय राजनीति गर्नुहोला। त्यसपछि न्यु जेनेरेसनकोमा नेतृत्व आउँछ। अब तपाईंहरूले पनि यो अन्यथा नलिइदिनूस्। एउटा नेपालीमा भनाइ छ, बूढो गोरुले गाई ओगटेजस्तो मात्रै गरी नेताहरूले नेतृत्वमा बस्नुहुँदैन।

आज आइतबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ। के–के कुरा उठाउनुपर्ला जस्तो लाग्छ ?

अहिले राष्ट्रिय राजनीतिमा कांग्रेस अलि कता कता अल्मलिएका छौं। हामी कुनै पनि कुरामा छलफल र समन्वयात्मक निर्णय गर्यौं भने अझ परिस्कृत हुन सक्छ। परिस्कृत मात्रै होइन पुरस्कृत पनि हुन पाउँछ । अहिले यो परिस्कृत पनि पुरस्कृत पनि भएन भन्ने चिन्ताको विषय हो। मलाई लाग्छ अहिलेका समाचारमा आएका इस्युहरू संविधान कार्यान्वयनका सवाल, मधेसवादले गरेका आन्दोलनहरू, चुनावमा भाग लिँदैनौं भनेका कुराहरू फुलफिल नभएका कार्यसमितिहरू, प्रवक्ता तोक्ने कुरा छन्।

त्यसपछि एमालेसँग अलिकता दूरी बढेको कुराहरू यो सबैलाई समायोजित गरेर संविधान कार्यान्वयन गर्न वैशाख ३१ गतेको चुनावको वातावरण सिर्जना गर्नुपर्ने छ। हामी प्रदेशको राजनीतिमा गइसकेका छौं। त्यो मात्रै होइन, स्थानीय तह अहिले गठन भएका छन्। पार्टीले त्योअनुसारको संरचना ढाल्नुपर्ने जरुरी छ।

अनि लोकतान्त्रिक फोरमका विजयकुमार गच्छादारलाई महामन्त्री बनाउने हल्ला पनि छ नि कांग्रेसमा ?

हेर्नूस् हाम्रो पार्टी हिजो धेरै ठूल्ठूला नेताहरूले छोडेर जाँदा पनि कार्यकर्ताले बचाएको पार्टी हो। कुनै बेला परशुनारायणले छोडेर जानु भयो, कुनै बेला महन्थ ठाकुरले छोडेर जानुभयो। जेपी आनन्दले छोडेर जानुभयो। शरदसिंह भण्डारीले छोडेर जानुभयो। विजय गच्छदारले छोडेर जानुभयो।

कार्यकर्तामा कांग्रेसप्रतिको प्रगाढ स्नेह छ। त्यो देखेर अहिले गच्छदारलाई पनि लागेको होला म हिजो यही लोकतान्त्रिक पार्टीमा थिएँ र म पहिलो केन्द्रीय समितिमा निर्वाचित भएको निर्वाचन पद्धतिमध्येको एउटा म पनि हुँ भन्ने लागेको हुन सक्छ। त्यसैले म यो पार्टीमा लाग्दा मेरो पनि अझ सम्मान इज्जतमा कुनै कमी हुँदैन भन्ने उहाँलाई पनि लागेको होला।

हामीलाई पनि उहाँ आइदिए हुन्थ्यो भन्ने लागेको छ। उहाँलाई इच्छा छ भने हामीले स–सम्मान ल्याएर राख्न तयार छौं। अब उहाँले पनि विचार गर्नुहोला। हामी कसैलाई अपमान गर्न चाहँदैनौं। अहिले साह्रै करबल गरिहालेको चाहिँ छैनौं।

कांग्रेसकै कारण नेपाल प्रहरीलाई अप्ठेरोमा पार्यो भन्ने आरोप पनि लागेको छ नि, यसलाई कसरी लिनुभएको छ ?

नेपाल प्रहरीको कुरामा तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, केही दिन पहिला भारतमा पनि तेस्रो नम्बरमा भएको आर्मीको जनरललाई फस्ट नम्बरमा ल्याएर चिफ बनाइएको छ। यो चलन नभएको होइन। हिजो राजेन्द्रबहादुर सिंलाई नबनाएर ओमविक्रम राणालाई बनाइएको छ। त्यति मात्रै होइन, रवीन्द्र शाहलाई नबनाएर रमेश चन्दलाई बनाएका उदाहरणहरू पनि छन्। अहिले यो व्यापक हल्लाको विषय बन्यो। म कानुनको विद्यार्थी पनि हुँ। कानुनी राज्य पालना हुनुपर्छ भनेर हिजो हिँडेको पनि हुँ। तर, एउटा मेरो थोरै सर्वाेच्चप्रति जिज्ञाशा छ।

कहिलेकाहीं आफैंले सर्वाेच्च अदालतको फुल बेन्चमा लानुपर्छ भन्या मुद्दा आफैं फैसला गर्ने, अनि फुल बेन्चमा पनि आफैं बसेर फेरि अर्काे फैसला गर्ने। भोलिचाहिँ न्याय र कानुनका विद्यार्थीहरूले यो फैसला गर्दा यी न्यायाधीशहरूले यो कसरी गरेछन् भन्ने प्रश्न कहीं रहन्छ कि भन्ने ठाउँ उत्पन्न भएको छ। यो बारेमा सम्मानित अदालतका न्यायाधीसहरू अनविज्ञ हुनुहुन्नहोला। यो प्रश्न रहने ठाउँ नदिएको भए उहाँहरूको उचाइ अझ बढ्थ्यो र कानुनी राज्यको अपरिहार्यता अझ प्रस्टिन्थ्यो।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने रे भन्ने हल्ला के हो ?

त्यो बाटोमा अहिले हामी गएका छैनौं। तर, हेर्नूस् एउटा लोकमानलाई सखाप पारेर अर्काे लोकमान जन्माउनेतिर हामी जानु पनि हुँदैन। एउटा राजा समाप्त पारेर हामी धेरै राजा देखा पर्नु पनि हुँदैन। फेरि अर्काे लोकमान प्रवृत्ति हामी कहीं पनि देखिने प्रवृत्तिमा हामी जानुहुँदैन। हाम्रो सम्मानित अदालतप्रतिको मेरो आस्था कमी हुने पक्षमा म अहिले पनि जान चाहन्न। र, सर्वाेच्च अदालतका न्यायाधीशहरूले पनि यसलाई गर उसलाई गर भनेर जानेर नजानेर त्यस्तो फैसला गर्नुहुन्न होला। मैले पूर्ण फैसला पढेको छैन।

तपार्इं संसद्को सार्वजनिक लेखा समितिको सदस्यमा पनि हुनुहुन्छ। एनसेल कर प्रकरणमा उपेन्द्र महतोको बारेमा समितिले चुइँक्क पनि बोलेको छैन। कतै महतोले समितिका सदस्यहरूसँग सेटिङ मिलाएका त हैनन् ?

क्षमा पाउँ, एन्फाको केस हामीले हेर्यौं। त्यसले गर्दा अहिले फिफासम्म नेपालबाट शुरुआत भएको भ्रष्टाचारका केस विश्वव्यापीरूपमा पुर्याउनेमध्येको म एउटा हुँ। नेपालमा यसरी भ्रष्टाचार हुने रहेछ भन्ने फिफाले पनि हेर्यो र एउटा अन्तर्राष्ट्रियरूपमा तहल्का नै मच्चियो। सायद मेरोबारेमा अमेरिकी पेपरले पनि समाचार छापेको छ। त्यहाँबाट शुरुआत गरेको, त्यो शुरुआत गर्ने मै हुँ। त्यो बापत एक दिन म नामै भन्छु, तत्कालीन राप्रपा नेपालको मकवानपुर–४ नम्बरबाट प्रत्यक्ष उम्मेदवार भएका राम लामाले एक दिन बिहान आएर मलाई दाइ माछा खाना जाउँ भन्नुभयो। मैले हुन्छ भने मलाई केही थाहा थिएन।

१० बजेतिर मेरो घरको छेउमा आउनुभयो। मैले घडी हेरें, त्यस दिन सार्वजनिक लेखा समितिको मिटिङ रहेछ। मैले आज लेखा समितिको मिटिङ रहेछ रामजी आज जान पाइन भनें । त्यही लेखा समितिको मिटिङ छ, त्यहाँ तपाईं आज एक दिन अनुपस्थित भइदिनूस् अहिले १ करोड रुपियाँ बुझिदिनूस् भनेर भने। उहाँले मलाई त्यो प्रस्ताव लिएर आउनुभयो। गणेश थापाको केस हेर्ने दिन। म नाम लिन चाहन्न। त्यस दिन धेरै राम्रा माननीयज्यूहरू पनि अनुपस्थित हुनुभएको थियो। तर, म उपस्थित भएरै आफ्नो कुराहरू राखें। मलाई माछा खान जान भनेर त्यत्रो अफर गरेको मैले मानिनँ। त्यो मान्छेको नाम नम्बर अहिले नै दिन सक्छु। त्यो मान्छे अहिले पनि राप्रपामा छन्।

अस्ति पनि अर्थमन्त्री कृष्णबहादुर महरा आउँदा मैले भने– इटालीतिर तथा अन्य कहीं–कहीं मन्त्री माफियाले बनाउने चलन हुन्थ्यो, नेपालमा पनि शुरुआत भएको हो भनेर मन्त्रीजीलाई प्रश्न गर्ने मान्छे पनि मै हुँ। एनसेल प्रकरणमा जम्मा १२ पटक किनबेच भएको देखिन्छ शुरुदेखि आजसम्म आइपुग्दा। त्यसमा उपेन्द्र महतोको कुरा पनि आउँछ। कसका पालामा कति कर, १ देखि १२ सम्म त्यो निर्धारण गर्ने काम कर कार्यालयको हो। लेखा समितिको होइन। कर निर्धारण गरे जसको जति छ तिराऊ भनेर आवाज उठाउने हामी नै हौं।

एनसेल मात्रै होइन टेलियाको कति छ, त्योभन्दा अगाडिको कति छ ? पटक–पटक किनबेच हुँदा किन कर कार्यालयले त्यो कर उठाएन ? मैले त सुनिराछु– योभन्दा अगाडिको टेलियालाई बाहिर पठाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओली र विष्णु पौडेलजी म नामै लिएर भन्छु जो विष्णु पौडेल अहिले लेखा समितिको सदस्य पनि हुनुहुन्छ उहाँहरूलाई टेलियाको मान्छेलाई भेट्टाएर, कर प्रमुखलाई भेट्टाएर भैरहवा एयरपोर्टबाट उडाउने कामहरू भएको प्रमाणहरू अहिले फेला परिरहेको छ। अनि एउटालाई छोड्ने अरूलाई नलिने भन्ने हुन्छ ? जोसुकै होस् करको दायरामा आउनुपर्छ। सेटिङको कुरा गर्नूभो, म कुनै पनि सेटिङमा कोहीसँग पनि छैन। मेरो लेखा समितिको मिटिङ हेर्नुहोस् म कुनै पनि मिटिङ अनुपस्थित छैन। संसद्मा पनि म दुई पटकबाहेक अनुपस्थित भएको छैन। मैले कुनै मिटिङमा अनुपस्थित भएर मेरो कुरा नराखेको रेकर्ड छैन। त्यसैले म अनुरोध गर्न चाहन्छु यो सेटिङ भन्ने शब्दसँग मेरो भेटै हुँदैन।

यसमै केन्द्रित होऔं उपेन्द्रको कुरा किन नआएको ?

उजुरी प्राप्त भएपछि हामीले हेर्ने हो । तपाईंको घरमा के छ भनेर हामीले हेर्दै जाने होइन र बेरुजु पनि हेर्दैनौं। बेरुजु देखियो भने त्यो महालेखाले हेर्ने हो। महालेखाको प्रतिवेदनमा उल्लेख भएका बेरुजु हामी हेर्छौं। एउटा कुरा, एक जना सचिव हुनुहुन्थ्यो। अहिले पनि उहाँ सचिव हुनुहुन्छ। मलाई कुनै मन्त्रीले फोन पनि गर्नुभाथ्यो। म बेरुजु फछ्र्यौट उपसमितिमा पनि थिएँ। उहाँले सानो रकम ५० लाख रुपियाँ छुट्टाउनुभएछ एउटा गाडी किन्नका लागि। आयोजनाका लागि गाडी किन्नुको बदला उहाँले बागमती सिँचाइ आयोजना बनाइदिने ठेकेदारको गाडी चढ्नुभो। अनि उहाँले के भनेर भुक्तानी लिनुभएछ भने– गाडीको भाडा तिर्न महिनाको १ लाख २० हजारका दरले भाडा भुक्तानी लिनुभो। न गाडी चढ्यो न त त्यो ठेकेदारलाई भुक्तानी दिएको छ।

त्यस्तो बेरुजु तँलाई कारबाही गर्छु तिर भनेर मैले कुरा उठाइराछु। मैले भन्न खोजेको मतलब बेरुजु देखियो भने उपेन्द्र महतो हाइन प्रचण्डको नाममा छ भने पनि हामी छोड्नेवाला छैनौं। यो र त्यो होइन। बेरुजु महालेखाले पेस गर्छ कि उजुरी पर्नुपर्छ। कुनै पनि छानविन गर्न लेखासमिति पछि पर्दैन। अर्काे कुरा पनि भन्छु– हामीले सशस्त्रको आईजीले गरेको भ्रष्टाचारको केस पनि हेरेका छौं। त्यही केस पछि अख्तियारले हेर्यो। नभए ठूला माछा समातेन भनेर हामीले भनेका थियौं। त्यसपछि सशस्त्रको आईजी कारबाहीमा पर्नुभो।

लेखासमितिले त्यो मात्रै होइन पर्यटन बोर्डमा भएको भ्रष्टाचारमा मलाई लाग्छ नेपाली कांग्रेसका सबै नजिकका मान्छेहरू हुनुहन्थ्यो। त्यो केसमा पनि मुद्दा चलाएका छौं। निर्दोष मान्छे पनि त्यसमा पर्नुभएको छ। शरचचन्द्र पौडेल, त्यो मान्छे पूर्वाग्रहित ढंगले भन्छु निर्दोष हुन्। एउटा मिटिङ सही गरेकोले उहाँ आजको दिनसम्म पनि निलम्बनमा पर्नुभएको छ। त्यसैले हामीले कसैसँग पूर्वाग्रह राख्दैनौं, कोहीसँग द्वेष भावना पनि राख्दैनौं। हामीले जे देखेका छौं त्यहीअनुसार काम गर्छौं। त्यहाँ कांग्रेस, एमाले, माओवादीको रूपमा भइँदैन लेखासमितिको सदस्यको रूपमा गरिने भूमिका हामी कम हुन दिनेछैनौं। र मेरो नाताको मेरो दाताको भनेर रोकिँदैन।

तपाईंहरूले सम्बद्ध अधिकारीहरूलाई बोलाएर स्पष्टीकरण लिने हो भने त उपेन्द्र महतोको करछलीसम्बन्धी सूचना तपाईंहरूकोमा आउन पनि गाह्रो हुने थिएन नि ?

होइन अहिले कर अधिकृतलाई भनेको छु। अस्ति अर्थमन्त्री आएको बेलामा पनि अर्थमन्त्रालयको सचिव र राजस्वको प्रमुखलाई भनेको छु। यो खरिद–बिक्री सम्झौतामा के छ त्यो लेऊ भनेको छु। खरिद बिक्री सम्झौता पनि पेस नगर्ने? कर अधिकृत भएर कर कार्यालयको प्रमुख भएर? आन्तरिक राजस्वको प्रमुख भएर? कर्मचारीहरूको बदमासी छ, हामी त्यसलाई पनि छोड्दैनौं। अख्तियारमा लेखेर पठाउँछौं। कारबाही गछौं। ढुक्क हुनुहोस्।

अब संविधान कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने ?

अब संविधान कार्यान्वयन गर्ने बाटोमा हामी सबै लाग्नुपर्छ। हामी सबै राजनीतिक पार्टीका नेताहरू जाति र पार्टीबाट माथि उठ्ने बेला छ। एउटाले अर्काेलाई गाली गरेर मुलुकको समस्या समाधान हुँदैन। मिलेर जाऔं सत्ता पक्ष प्रतिपक्ष होइन। अब नेपाली पक्ष भएर नेपाली संविधानको कार्यान्वयन गरौं।

तपाईंको व्यक्तिगत कुरातर्फ पनि जाऔं। केही दिनअघि बालकृष्ण ढुंगेलसँग फूलमाला लगाएर अंकमाल गरेको फोटो पनि आयो। त्यसलाई लिएर तपाईंको आलोचना पनि भइरहेको छ नि ? के भन्नुहुन्छ ?

म ओखलढुंगाको सांसद हुँ। मभन्दा पहिलाका सांसद बालकृष्ण ढुंगेल हुन्। बालकृष्ण ढुंगेल सर्वाेच्च अदालतले अपराधी घोषणा गरेका व्यक्ति पनि हुन्। म एउटा पुराणको कार्यक्रममा ओखलढुंगा गएको थिएँ। मलाई त्यहाँ बोलाइएको थियो। मलाई त्यहाँ बालकृष्ण ढुंगेल आउनुहुन्छ भनेर थाहा पनि थिएन। म बोलेर बाहिर निक्लिएँ। बाहिर निक्लिँदै गर्दा उहाँ आउनुभयो। माला मलाई पनि लगाइदिए। उहाँलाई पनि लगाइदिए। फोटो पनि खिचे। अब त्यो गर्दा मैले अपराध गरें भने म सजाय भोग्न पनि तयार छु।

घडी प्रकरणको समस्या त सल्टियो होइन ? सांसदलाई पनि यस्तो आरोप लगाउन थालियो है।

त्यो समस्या त थिएन। त्यसमा पनि मलाई फसाइएको हो। मेरो क्लबमा जाने बानी थियो। अहिले पनि जान्छु। म त्यहाँ ट्रइकसुट लाएर गएँ। ट्रइकसुट झोलामा हालें। म कोटपाइन्ट लगाएर ओखलढुंगा गएँ। पाउने बित्तिकै मैले सबैतिर खबर गरें। जो हराउनेलाई पनि सोधिएको छैन पाउनेलाई पनि सोधिएको छैन। मनगढन्ते समाचार शेयर गरे। मेरो बदनाम गर्न खोजियो। त्यसो गर्ने मैले लेखा समितिमा कारबाही गरेकै मान्छेहरू थिए। १५ सय डलर दिएर त्यो खेल खेलिएको प्रमाण मसँग अझै छ। यो रामहरिलाई सिध्याउन कहीं इस्यु नपाएर गरिएको काम हो।

तपाईंले बिहेचाहिँ किन नगर्नुभएको ?

म बिहे गर्न तयारी अवस्थामा छु। बिहे गर्न केटी पनि चाहियो। उपयुक्त केटी भेटिनासाथ बिहे गर्ने मनस्थितिमा छु। बिहेको बारेमा सारांशमा भन्नुपर्दा म लाइनमा छु।

SEE ALSO :


रामदेव–महतो कनेक्सन कसरी ? कालो धन चोख्याउने रणनीति
महतोद्वारा अर्बौंको कर छली
महतो कर छली प्रकरण कर उठेमा २८० मेगावाटको बिजुली
“करको विषयमा उपेन्द्र महतो मात्रै होइन प्रचण्ड भए पनि छोडिन्न”
एनसेल कर छलीमा टेलिया खोजियो, महतो खोजिएन
महतोको लगानी शंकाको घेरामा “प्रधानमन्त्री पुत्रलाई रसरंगमा भुलाएर अवैध धन्दा चलाइँदै”

प्रतिक्रिया दिनुहोस्