क्षयरोग प्रभावित जिल्लामा दाङ नेपालकै दोस्रो वर्षेनी एघार सय बिरामी थपिन्छन्



नरेन्द्र केसी, घोराही
धेरै क्षयरोगी रहेको जिल्लामा दाङ नेपालकै दोस्रो स्थानमा रहेको छ। सबैभन्दा धेरै क्षयरोगी रहेको जिल्ला कैलालीपछि दोस्रोमा दाङ रहेको पाइएको छ।

दाङमा हरेक वर्ष एक हजार एक सयदेखि एक हजार दुई समयसम्म बिरामी देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा १ हजार २५ जना क्षयरोगी भेटिएकोमा फोक्सोमा समस्या भएका ८ सय ९ र अन्य अंगमा समस्या देखिएको २ सय १६ जना रहेको क्षयरोगको क्षेत्रमा काम गर्दै आएको संस्था बीएनएमटीका कार्यक्रम संयोजक एलिना खत्रीले जानकारी दिनुभयो।

अहिले दाङमा नौ जना एकपटक उपचार नभएर फेरिफेरि पनि उपचार गराइने ‘औषधि प्रतिरोधी क्षयरोगी’को उपचार भइरहेको छ। स्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोगबाट प्रभावित हुनेको संख्या नेपालमा प्रतिवर्ष ३४ हजार पत्ता लाग्ने गरेको छ। प्रतिवर्ष ४४ हजार बिरामी पत्ता लाग्नुपर्ने तथ्यहरूले देखाए पनि दश हजार क्षयरोगी स्वास्थ्य निकायको सम्पर्कमा आउन नसकेकाले उनीहरूलाई स्वाथ्य निकायसम्म ल्याउन समुदायले नै सहयोग गर्नुपर्ने खत्रीले बताउनुभयो।

उपचार गराएकामध्ये ९० प्रतिशत बढी निको भएर घर फर्कने भएकाले बिरामीको संख्या नबढे पनि बिरामी देखिने क्रम भने कम भएको छैन। जुन व्यक्तिबाट सरेको हो, नयाँ व्यक्तिमा पनि पुरानै व्यक्तिका रोगका जीवाणुले असर गर्ने भएकाले जीर्ण रोगीबाट सरेर नयाँ व्यक्तिमा सर्दा पनि जीर्ण रोगीको जस्तै समस्या ब्यहोर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। त्यस्तै एक जना रोगीले वर्षमा १०⁄१५ जना नयाँ रोगीलाई सार्ने भएकाले संक्रमणको दर धेरै देखिएको पनि उनीहरूले बताए।

उच्च प्रविधिबाट परीक्षण गराउनेको संख्या न्यून
क्षयरोग पत्ता लगाउन राप्ती उप–क्षेत्रीय अस्पतालमा उच्च प्रविधिको ‘जीन स्पर्ट’ मेसिन राखिएको भए पनि यसको प्रयोग निकै न्यून देखिएको छ। गत आर्थिक वर्षमा ५ हजार ९ सय १६ जनाले क्षयरोग परीक्षण गराएकोमा ३४ जनाले मात्र यो मेसिन प्रयोग गरेका छन्। ‘दुई घण्टामा रोग पत्ता लगाउने यति उच्चस्तरका मेसिन देशका थोरै ठाउँमा छन्, त्यसमध्ये दाङमा पनि हुनु खुसीको कुरा हो’– जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत डम्बर कुँवरले भन्नुभयो– ‘प्रचारप्रसारको अभावले हुनसक्छ, यसको प्रयोग गर्नेको संख्या निकै न्यून देखिएको छ।’

क्षयरोगीको उपचारका लागि जति खर्च लागे पनि सरकारले ब्यहार्ने गरेको उल्लेख गर्दै उहाँले तर पनि कतिपय बिरामी निजी अस्पतालमा गएर पैसा खर्च गर्ने गरेको पाइएकाले त्यस्ता बिरामीलाई पनि सरकारी निकायमै ल्याउनुपर्ने बताउनुभयो। ‘क्षयरोगको उपचार निकै महंगो छ’–उहाँले भन्नुभयो, ‘अवस्था हेरी छ देखि ३० महिनासम्म औषधि खानुपर्छ, एउटा बिरामीलाई ७⁄८ लाखसम्म लाग्छ तर पनि सबै उपचार सरकारले निःशुल्क गरेको छ।’

दाङमा क्षयरोग उपचार केन्द्रका रूपमा उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर र लमही अस्पताल तोकिएका छन् भने ४१ स्वास्थ्य संस्थाबाट डटस् सेवा प्रवाह भइरहेको छ। त्यस्तै दाङका १३ स्वास्थ्य संस्थाबाट माइक्रोस्कोपी सेवा प्रवाह भइरहेको छ। यति गर्दा पनि रोगी पत्ता लगाउने दर कमी रहेको र औषधि सेवनमा केहीले लापरवाही गर्ने गरेकाले सचेतना अभियान अझै तीव्र बनाउनुपर्ने स्वास्थ्य प्राविधिकहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्