भैंसीलाई पनि सुत्केरी भत्ता



विनोद सिंह विष्ट, बैतडी
भैसीपालन व्यवसायका लागि कुनैबेला नामी जिल्लाका रूपमा रहेको बैतडी जिल्लामा भैंसी लोप हुँदै गएका छन्। जिल्लाका अधिकांश गाविसका किसानहरूले भैंसीपालन व्यवसायलाई छोड्दा भैंसी लोप हुने अवस्थामा पुगेका हुन्। भैंसीमा लाग्ने खरीरोगका कारण र भैंसीको स्याहारसुसारका लागि बढी मिहनेत गर्नुपर्ने र दुधको समेत संगठित बजार नहुँदा भैंसीपालन व्यवसाय संकटमा परेको पशु प्राविधिकले बताएका छन्।

जिल्ला पशु सेवा कार्यालय बैतडीका अनुसार पछिल्लो समयमा भैंसीपालनमा किसानको आकर्षण घट्दै गएको छ। भैंसी पाल्नका लागि मेहनत धेरै गर्नुपर्ने, चरिचरनको अभावका कारण पनि भैंसीपालन व्यवसाय संकटमा परेको जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो ‘मानिसहरूले सुखसुविधा खोज्ने, थारा भैंसीहरूलाई समेत गाउँगाउँबाट दलालहरू मासुका लागि किन्न थालेपछि भैसी पालन व्यवसाय संकटमा परेको हो।’

गाउँमा रहेका भैंसीहरू मासुका लागि तराईतिर लग्ने गरिएको छ।
कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाँडपर्व मनाउने सवालमा पनि भैंसीको घिउले नै गर्जो टार्ने चलन थियो। तर पछिल्लो समयमा भैंसी पालनमा किसानहरूको आकर्षण घटेपछि भैंसीको घिउ पाउन छोडेको बाशुलिङका लालबहादुर पाण्डेले बताउनुभयो।उहाँले भन्नुभयो– ‘पहाडी जिल्लाबाट मासुका लागि थारा भैंसीसमेत व्यापारीहरूले किन्न थालेपछि किसानहरूले भैंसी नै पाल्न छोडेको हो।’

बैतडीमा भैंसी नै लोप हुने अवस्थामा पुगेपछि जिल्ला पशु सेवा कार्यालयले भैंसी प्रवद्र्धन कार्यक्रम शुरू गरेको छ। चालु आर्थिक वर्षबाट जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा भैंसी प्रवद्र्धन कार्यक्रम शुरू गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.नवीन घिमिरेले बताउनुभयो ।

कार्यक्रम लागू भएका नगरपालिका तथा गाविसमा भैंसीपालक किसानहरूको २५ जनाको समूह गठन गर्ने र उनीहरूलाई विभिन्न कुराको सहयोग गर्ने घिमिरेले बताउनुभयो। कार्यक्रम लागू भएका ठाउँमा प्रतिकिसान गोठ सुधारका लागि ५ हजार अनुदान दिइने भएको छ ।यसका साथै भैंसीमा लाग्ने रोगहरूको नियन्त्रणका लागि जुकाको औषधि, बाह्य परिजीवी विरुद्धको खोप र खरी रोग विरुद्धको औषधि निःशुल्क प्रदान गरिने बताइएको छ। यस्तै किसानहरूलाई पोषिलो घास उत्पादनमा उत्प्रेरित गर्ने र त्यसका लागि घासको बीउ र बेर्ना सित्तैमा उपलब्ध गराउने जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी शिवराज भट्टले बताउनुभयो।

जिल्लामा पालिएका भँैसी लोप हुने अवस्थामा पुगेका छन्। पछिल्लो समय उन्नत् जातका गाईतर्फ आकर्षण बढ्दै गएपछि भँैसी लोप हुन लागेको हो। भँैसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्या न्यून रहेको छ। उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भँैसी बिक्री गर्ने गरेका छन्।

बैतडीमा किनिएका भैंसीहरू कैलाली हुँदै पूर्वतिर जाने गरेका छन्। बैतडीका एक सय भैंसीपालक किसानलाई भैंसी सुत्केरी भत्ता पाइने भएको छ। जिल्ला पशु सेवा कार्यालय पशु विकास निर्देशनालयमार्फत किसानहरूलाई भैंसी सुत्केरी भत्ता वितरण गर्ने तयारी गरेको छ। भैंसी ब्याउने अन्तिम महिना र भैंसी ब्याएको तीन महिना गरी ४ महिनाभित्र किसानहरूलाई भैंसी सुत्केरी भत्ता वितरण गरिने जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा. नवीन घिमिरेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो ‘भैंसी सुत्केरी भत्ता लिनका लागि किसानहरूले भैंसीको बीमा अनिवार्य गर्नुपर्ने, सेवाकेन्द्रको सिफारिससहित निवेदन दिनुपर्नेछ’ किसानहरूलाई भैंसीपालन व्यवसायतर्फ आकर्षण गराउनका लागि भैंसी सुत्केरी भत्ता कार्यक्रम शुरु गरिएको डा. घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्