समाचार प्रभाव : एकसय ३५ वादी परिवारका घर निर्माण हुने



(लोकेन्द्र खनाल)

रुकुम ११ चैत । यहाँका एकसय ३५ वादी परिवारको घरबास निर्माण हुने भएको छ । लामो समयदेखि सार्वजनिक ठाउँमा बस्दै आएका वादी परिवारलाई सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा यस आवमा एकसय ३५ घरपरिवारका लागि घरबास निर्माण हुन लागेको हो ।

राष्ट्रिय समाचार समितिमा गत माघ २० गते ‘रुकुमका वादी परिवार घरबासविहीन’ शीर्षकको समाचार प्रकाशन भएपछि मन्त्रालयले जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्न लागेको हो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा लामो समयदेखि यहाँका वादी समुदाय खोलाका छेउमा र सार्वजनिक ठाउँमा बस्दै आएका थिए ।

घर निर्माणका लागि जमिन नभएका साबिकको पिपल गाविसका ११ घर वादी परिवारलाई सांसद गणेशमान पुनले संसद विकास कोषको रकमबाट एकसय वर्गमिटर जमिन खरिद गरिदिनुभएको छ । आफ्नो नाममा लालपुर्जा र घर सँगै पाएपछि वादी परिवार निकै खुसी भएका छन् । विगत ४० वर्षदेखि सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको पिपलका मनबहादुर वादीले लालपुर्जा र घर पाउने भएपछि निकै खुसी भएको बताउनुभयो ।

सानो भए पनि आफ्नो घरबास निर्माण हुने भएपछि वादी परिवार एउटा समस्याको समाधान भएको रुघा–२ का गोपाल वादीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण वादी परिवारले आफ्नो घरजग्गा बनाउन नसकेको वादी समुदायका अगुवाको भनाइ छ ।

जिल्लाका आठविसकोट, आठविसडाँडागाउँ, रुघा, पिपल, चौरजहारी नगरपालिकालगायत ठाउँमा वादी परिवारको बसोबास रहेको छ । दुईसय आठ घरधुरी रहेको वादी परिवारमा आठसय १६ जनसङ्ख्या रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्