भाषा परीक्षाको फारम भर्न नहत्तारिन आग्रह



रोविन पौडेल, काठमाडौं

कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको दोस्रो दिन बिहीबार १९ हजारभन्दा बढीले अनलाइनमार्फत् आवेदन दिएका छन्।

त्यस्तै ३० हजारभन्दा बढीले बैंकमार्फत् आवेदन शुल्क बुझाइसकेको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जानकारी दिएको छ।

इपिएस कोरिया शाखाले भाषा परीक्षाको फारम भर्नको लागि नआत्तिन आग्रह गरेको छ। सहज दर्ता तथा सेवालाई मध्यनजर गर्दै यस वर्ष आवेदनका लागि १० दिन २४सै घन्टा समय दिइएकाले हतारिएर बैंकमा भीड नगर्न शाखाले आग्रह गरेको हो।

गतवर्ष विभागले आवेदन फारम ५ दिनका लागि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मात्र खुल्ला गरेको थियो। त्यस अवधिभर ६१ हजारले आवेदन दिएका थिए।

विभागका निर्देशक बाबुराम खतिवडाको अनुसार अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन्।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘कोरिया सरकारले ४ हजार कामदार उत्पादनमुलक क्षेत्र र ६ हजार २ सय कामदार कृषि तथा पशु पालन क्षेत्रका लागि भाषा परीक्षा उत्तीर्ण गराउने छ। यद्यपि, भाषा परीक्षा पास गरेपनि कोरिया जाने निश्चित भने हुने छैन। यो एकेडेमिक सर्टिफिकेट मात्र हो।’ उहाँले भन्नुभयो।

सन् २०१८ को इपिएस परीक्षा दिन इच्छुकले अनलाईनमार्फत् फाराम भर्न पाउने व्यवस्था यस वर्षदेखि शुरू गरेको शाखाले जनाएको छ। फारम चैत १८ गतेसम्म भित्र भर्नुपर्नेछ भने परीक्षा २०७४ जेठ २७ र २८ गते हुँदैछ। भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेको हुनुपर्छ।

आवेदन फाराम भर्नु एक दिनअघि बैंकमा शुल्क बुझाउनुपर्छ। ग्लोबल आइएमई बैंकमार्फत् २४ अमेरिकी डलर बराबरको रकम तिरेपछि अनलाइनमा फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै ‘अनलाइन फारम सब्मिट’ गर्न सकिनेछ।साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि अनिवार्य हुनेछ। गत वर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस्