अछाममा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु



नेपाल समाचारपत्र
अछाम
अछाममा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाका मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–७ साविकको सेरा गाविस–२ जामा निवासी शेरे कामीकी १५ वर्षीया छोरी धनसरा कामीको भीरबाट खसेर ज्यान गएको छ।

साविकको सेरा गासिमा पर्ने मनकामना सामुदायिक वनको हुम्कु भन्ने ठाउँमा भीरबाट खासेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय धन विकले जानकारी दिनुभयो। घाँस काट्नका लागि बिहान घरबाट जंगलमा गएकी धनसरा साँझ अबेरसम्म पनि घरमा नआएपछि घरपरिवारले खोजी शुरू गरेका थिए। उनी मनकामना सामुदायिक वनको हुम्कु भन्ने ठाउँमा मृत भेटिएको आफन्तले जानकारी दिएका छन्। धनसरा स्थानीय मनकामना मावि फल्टानेमा कक्षा ८ मा अध्यनरत थिइन्। उनको बिहीबारै अन्तिम संस्कार गरिने आफन्तले जानकारी दिएका छन्।

यस्तै बुधबार बेलुकी अछामको ठूलासैन नजिकै ट्याक्टरबाट खसेर २९ वर्षीय एक पुरुष जनाको ज्यान गएको छ। त्यस्तै कालिकास्थानमा डोजरले सडक खन्ने क्रममा खसेको ढुंगा लागेर एक महिलाको ज्यान गएको छ। ठूलासैनमा भएको दुर्घटनामा दैलेख चामुण्डा घर भई मंगलसेनमा होटेल व्यवसाय गर्दै आएका २९ वर्षीय तपेन्द्र शाहीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार ट्याक्टरको अगाडि बसेका शाही ट्याक्टरबाट खसेका र त्यसपछि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्रकुमार कलौनीका अनुसार मृतक शाहीको शव सडकमा राखिएको कल्भर्टमा होमपाइपभित्र राखिएको अवस्थामा फेला परेको थियो। शाहीको मृत्युपश्चात आफू फस्ने डरले ट्याक्टर मालिक र त्यसमा रहेका चालक सह–चालकले त्यहाँ राखेको हुन सक्ने कलौनीले बताउनुभयो। लु३प ४१७१ नम्बरको ट्याक्टरसहित त्यसका सह–चालक सन्तोष विकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र चालक डम्मर साउद नाम गरेका व्यक्ति फरार रहेको प्रहरी निरीक्षक कलौनीको भनाइ छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ। उता कालिकास्थानमा भएको दुर्घटनामा चापाखोला भन्ने ठाउँमा जेसीबीले सडक खन्ने क्रममा सडक माथिबाट पल्टिएको ढुंगा लागेर पुल्लेतोला–५ रिठा बस्ने ५० वर्षीया कैली रावलको मृत्य भएको छ। सडक खनिरहेको ठाउँनजिकै रहेकी रावलको डोजरले खनेको ढुंगा लागेर मृत्यु भएको प्रहरी निरीक्षक कलौनीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्