अख्तियारको छानविनले विद्यालयको पढाइ प्रभावित



विमल विष्ट, डोटी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका कारण डोटीका एक विद्यालयको पढाइ लामो समयदेखि प्रभावित भएको छ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बगलेक गाविस–९ मसिन्तोलामा रहेको मष्टेश्वर आधारभुत विद्यालयमा शिक्षकले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले छानविन शुरू गरेपछि विद्यालयको पढाइ प्रभावित भएको हो। कक्षा ५ सम्म पढाइ हुने गरेको उक्त विद्यालयमा ५ जना शिक्षक कार्यरत रहेकोमा अख्तियारले ४ जना शिक्षकले भ्रष्टाचार गरेको भन्दै छानविनसहित निलम्बन गरेपछि हाल उक्त विद्यालयमा एक जना मात्रै कार्यरत रहेको बताइएको छ।

बग्लेग गाविसबाट दिइएको अनुदानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय दिपायलमा परेको उजुरीमाथि छानविनका क्रममा विद्यालयको पढाइ प्रभावित भएको स्थानीय हर्कबहादुर बोगटीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘शिक्षकले भ्रष्टाचार गर्यो भन्ने उजुरी परेछ, अख्तियारले छानविन भन्दै निलम्बन गरिदियो, अहिले विद्यालयमा पढाउने मान्छे नै छैनन्, हाम्रा नानीको भविष्य बिग्रियो।’ सो विद्यालयमा स्थायी शिक्षक १, सट्टा १, करार १ र राहत २ गरी सरकारी अनुदानका ५ शिक्षक रहेकोमा अख्तियारले ४ लाई निलम्बन गरेपछि हाल १ जना करार शिक्षक मात्रै कार्यरत छन्।

बगलेग गाविसबाट २०६४⁄०६५ देखि ०७०⁄०७१ सम्म विद्यालयको भौतिक पूर्वाधारका लागि विनियोजन भएको ४ लाख ५५ हजार रुपियाँ हिनामिना भएको भन्दै परेको बेनामी उजुरीमा अख्तियारले छानविन गर्ने क्रममा सो अवधिमा क्रमैसँग प्रधानाध्यापक बनेका शिक्षकहरू लक्ष्मण साफी, मुक्तिराज जोशी, सुनिता केसी र वीरवहादुर साउदलाई फागुन १७ गते निलम्बन गरेपछि विद्यालयमा १ जना करार शिक्षक नरबहादुर बोहरा मात्रै कार्यरत छन्।

चार शिक्षकसँगै बगलेकका प्राविधिक धनवहादुर विष्ट र सोही गाविसका तत्कालीन सचिव भीमबहादुर धामी पनि अनुसन्धानमा रहेको बताइएको छ। प्राविधिक विष्ट पनि निलम्बनमा छन्। धामी सेवानिवृत्त भइसकेका छन्। यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष महा साउद पनि अख्तियारको अनुसन्धानमा छन्। २०७१ साल भदौ ५ गते पहिलोपटक अख्तियारले विद्यालयमा उजुरीका सम्बन्धमा पत्राचार गरेको थियो। त्यस बेलादेखि भइरहेको अनुसन्धान अझै टुंगिएको छैन।

प्रतिक्रिया दिनुहोस्