गैँडा स्थानान्तरण चाँडै



रत्ननगर (चितवन), १० चैत । चितवन राष्ट्रिय निकुञ्जबाट यही चैत २१ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षका लागि दुई भालेसहित पाँचवटा गैँडा स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । गैँडा स्थानान्तरणको काम सकिएपछि शुक्लाफाँटाबाट बाह्रसिङ्गे चितवन ल्याइने छ ।

उक्त विषयमा आज चितवनको सौराहामा तयारी बैठक सम्पन्न भएको छ । स्थानान्तरण प्रक्रियाका लागि आवश्यक तयारी गरिएको कँडेलले बताउनुभयो । यसका लागि विभिन्न टोली बनाएर जिम्मेवारी बाँडफाँड गरिएको छ । समग्र व्यवस्थापन र अनुगमनको जिम्मा प्रमुख संरक्षण अधिकृत कँडेल र प्राविधिक टोलीको नेतृत्व वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले गर्नुहुने छ ।

दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि करिब १०० जना परिचालन हुने निकुञ्जले जनाएको छ । अघिल्लो वर्ष फागुनको तेस्रो साता निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया पठाइएको थियो । तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँडा स्थानान्तरण गरिने यस अघि निर्णय गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

यसअघि पटक÷पटक गरेर बर्दियामा ८३ वटा गैँडा पठाइएको थियो । मुलुकभर ६४५ गैँडा गणना गरिएकामा चितवनमा मात्रै ६०० रहेका छन् । बर्दियामा ३४ गैँडा रहेका छन् । सरकारले चीनमा समेत गैँडा पठाउने तयारी गरेको छ भने बर्दियामा थप गैँडा पठाउने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्