फेरि बढ्यो कपडाको तस्करी



कृष्णउदास खनाल, वीरगन्ज
पर्साको ठोरी नाकाबाट भारतीय कपडाको तस्करी हुने क्रम फेरि बढेको छ।
गत वर्ष मधेस आन्दोलनका क्रममा ठोरी नाकाबाट इन्धनका साथै भारतीय कपडाको पनि व्यापक तस्करी भएपछि प्रहरी र राजस्व कार्यालयले कडाइ गर्दा रोकिएको कपडाको तस्करी अहिले फेरि व्यापक मात्रामा भइरहेको स्थानीयबासीले बताएका छन्। कारोबारीहरूले भारतको रक्सौल, बेतिया, नरकटियागन्जलगायतका बजारबाट खरिद गरेको कपडा ठोरी नाका हँुदै अवैध रूपमा भित्त्याएर चितवनको माडी, नारायणगढ, पोखरा र काठमाडौंसम्म पुर्याउने गरेका छन्।

भारतबाट राजस्व छलेर ल्याइएको भारतीय कपडा ठोरीबाट चल्ने यात्रुवाहक बसमा राखेर विभिन्न शहरमा कारोबारीले पुर्याउने गरेका हुन्। ठोरीमा रहेका छोटी भन्सार कार्यालय, सशस्त्र प्रहरी बेस क्याम्प र इलाका प्रहरी कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमै कारोबारीले भारतीय कपडाको तस्करी गर्दै आएको स्थानीयबासीले बताएका छन्। ठोरी छोटी भन्सार कार्यालयले घरायसी प्रयोजनका लागि ल्याइने ५ हजार मूल्य बराबरको सामानको मात्र भन्सार प्रज्ञापनपत्र काट्ने गरेको छ।

तर, कारोबारीले भन्सारका कर्मचारी र प्रहरीको मिलोमतोमा एकैपटकमा लाखौं रुपियाँ मूल्य बराबरको कपडा अवैध रूपमा भित्त्याउँदै आएको स्थानीयबासीले बताएका छन्। यसैबीच ठोरी नाकाबाट राजस्व छलेर भित्त्याइएको करिब २० लाख मूल्य बराबरको भारतीय कपडा नेपाली सेनाले बरामद गरेको छ।

पर्साको सुवर्णपुरबाट ठोरी हुँदै काठमाडौंका लागि छुटेको ना६ख १८९० नम्बरको यात्रुवाहक बसबाट चितवन माडीको बगहीमा रहेको नेपाली सेनाको पोस्टले भारतबाट ठोरी नाका हुदै अवैध रूपमा भित्त्याइएको १७ वटा बोरामा रहेको करिब २० लाख मूल्य बराबरको कुर्ता सुर्वाल, साडी र सर्टपाइन्टको थान कपडा बरामद गरेको हो। बरामद गरिएको भारतीय कपडा आवश्यक कारबाहीका लागि चितवन प्रहरीको जिम्मा लगाइएको नेपाली सेनाको बगही पोस्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्