गोल्छाको टोली हेटौंडामा निजी क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता



हेटौंडा, (नेस)
मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा हेटौंडामा ३ नम्बर प्रदेशअन्तर्गतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरूको अन्तक्र्रिया भएको छ।

कार्यक्रममा ३ नम्बर तदर्थ समिति संयोजक अरूणराज सुमार्गीको सभाध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यता थियो। महासंघ अध्यक्ष मुरारकाले सबै उम्मेदवारलाई सफलताको कामना गर्नुभयो। वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले संस्थागतरुपमा निजी क्षेत्रका समस्या समाधानको पहलका लागि प्यानलको उमेदवारी भएको बताउनुभयो। महासंघको आसन्न निर्वाचनमा आफूलाई वरिष्ठ उपाध्यक्षका रुपमा उभ्याएको उपाध्यक्ष गोल्छाले जानकारी दिनुभयो।

उहाँले भवानी राणा महासंघको पहिलो महिला अध्यक्ष हुने कार्यकाल सफल बनाउन प्यानल घोषणा गरिएको बताउनुभयो। अन्तर्राष्ट्रिय लगानी नेपालमा भित्त्याउन र जिल्लानगर उद्योग वाणिज्य संघलाई आर्थिकरुपमा सवल बनाउने अभियान प्यानलको रहेको भन्दै अहिले बैंकहरूले आर्थिक रुपमा दुर्घटना निम्त्याएको गुनासो गर्नुभयो।

महासंघ पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघले गोल्छा परिवारलाई नेतृत्व दिने बेला आएको भन्दै वरिष्ठ उपाध्यक्षमा शेखर उपयुक्त व्यक्ति भएको दाबी गर्नुभयो। उहाँले महासंघको नेतृत्वलाई खारिने मौका दिन वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निष्कर्षमा पुगेर विधान संशोधन गरिएको बताउनुभयो। पूर्वअध्यक्ष ढकालले राज्यको संरचनामा आएको परिवर्तनलाई आत्मसात् गर्न महासंघले पनि आफ्नो विधानमा प्रादेशिक संरचनाअनुसार संगठन निर्माणमा लागिपरेको बताउनुभयो।

मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेले महासंघको आसन्न जिल्लानगरका तर्फबाट आफूले सदस्यमा उमेदवारी दिएकाले सबैले साथ र समर्थनका लागि आग्रह गर्नुभयो। महासंघले आफ्ना प्रादेशिक संरचनाको ढाँचा कस्तो बनाउने भन्ने विषयमा छलफल गरेको र यस विषयलाई जिल्लानगर उद्योग वाणिज्य संघहरूलाई प्रष्ट पार्न कार्यक्रम गरिएको ३ नम्बर प्रदेश संयोजक सुमार्गीले बताए। हाल प्रादेशिक संरचनाअनुसार ३ नम्बर प्रदेशका १३ जिल्लामा नगर र जिल्ला गरी १६ वटा उद्योग वाणिज्य संघ छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षसहित पदमा गोल्छाको नेतृत्वमा प्यानलसहित बुटवलबाट उम्मेदवारी घोषणा भएको हो। चैत २८ र २९ गते हुने महासंघको ५१औं वार्षिक साधारणमा हुने निर्वाचनका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाको प्यानलबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिएका छन्। कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल प्रधान र महासंघको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्