राजविराज नगर सीमांकन सुधार संघर्ष समिति गठन



शिवहरिप्रसाद भट्टराई, राजविराज
नीय तह पुनर्संरचना गर्दा राजविराज नगरपालिकामा अव्यवहारिक र अवैज्ञानिक ढंगले गाविसहरू समाहित गरिएको भन्दै तीव्र असन्तुष्टि देखिएको छ।

यसै क्रममा सोमबार स्थानीयले त्रुटिपूर्ण पुनर्संरचना सच्याउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन्। नगरपालिकामा हाल समावेश गरिएका कतिपय विकट गाविस र वडाका कारण अस्तित्व नै संकटमा पर्ने ठहर गर्दै अघिल्लो दिन आइतबार बसेको नगरबासीको बृहत् भेलाले पूर्वमेयर शैलेश चौधरीको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘राजविराज नगर सीमांकन सुधार संघर्ष समिति’ गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

सोहीअनुरूप पहिलो चरणमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको हो’, संघर्ष समितिका संयोजक चौधरीले भने– ‘अविलम्ब त्रुटि नसच्याए दोस्रो चरणमा आन्दोलनको सशक्त कार्यक्रमहरू अघि बढ्छ।’

ज्ञापनपत्रमा पूर्वमा खाडो खोलाभन्दा पश्चिम, उत्तरमा बसबिट्टी गाविसको सीमादेखि औद्योगिक क्षेत्रसम्म, पश्चिममा घोडदहनीदेखि पूर्व र दक्षिणमा इटहरी विष्णुपुर गाविसको पश्चिम कोशी नहरदेखि उत्तरको भाग मात्र राजविराज नगरपालिकामा गाभिनुपर्ने माग अघि सारिएको छ।

हाल नगरपालिकामा हरिहरपुर, को. मधेपुरा, देउरी भरुवालगायतका गाविस समेटिएका छन्। जुन अत्यन्तै अपायक र अव्यवहारिक भएको र नयाँ संरचनाले नगरलाई झन् अस्तव्यस्त बनाउने संघर्ष समितिको ठहर छ। ज्ञापनपत्रमा स्थानीय तह पुनर्संरचना गर्दा नगर र जिल्लाबासीसँग कुनै छलफल र सुझाव संकलन नै नगरी काठमाडौंमा बसेर केही नेता र सांसदको चुनावी लाभका लागि एकपक्षीय ढंगले सीमा तोकिएको उल्लेख गर्दै त्यस्तो संरचना आफूहरूलाई कुनै पनि हालतमा स्वीकार नहुने जनाइएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्