नेपालमा लगानी मैत्री वातावरण आवश्यक- जापानी पूर्वप्रधानमन्त्री हातोयामा



जापानका पूर्व प्रधानमन्त्री हातोयामा जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामा नेपाल पत्रकार महासंङघ कास्कीद्वारा मङगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदै । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

पोखरा, ८ चैत । जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

उद्योग कलकारखानाको विकास नहुँदा नेपालको युवा जनशक्ति विदेशिनु परेको बताउँदै पूर्वप्रधानमन्त्री हातोयामाको भनाइ थियो । उहाँले युवा जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्ने किसिमले साना तथा मझौला उद्योगको विकास गरिनु आवश्यक भएको बताउनुभयो ।

नेपालमा जस्तै जापानले पनि सन् २०११ मा ठूलो भूकम्पको सामना गर्नुपरेको र भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक रहेको उहाँको भनाइ थियो । पोखरा घुम्नलायक सुन्दर सहर रहेको चर्चा गर्दै उहाँले यहाँको पर्यटकीय विकास वातावरण मैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय चिनारीका लागि पोखरामा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वप्रधानमन्त्री हातोयामाले बताउनुभयो । जापान र नेपालबीच प्रत्यक्ष हवाई सम्पर्क हुनु आवश्यक रहेकोमा जोड दिँदैै उहाँले सिधा हवाई सम्पर्कसँगै नेपालमा जापानी पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्