सरकार लुलो र फितलोः ओली



नेपाल समाचारपत्र
बाँके
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार लुलो र फितलो भएकाले राजनीतिका नाममा आपराधिक गतिविधि भइरहेको बताउनुभएको छ।

नेकपा एमाले, बाँके प्रचार विभागले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले आफ्नो छुद्र स्वार्थपूर्तिका लागि अराजनीतिक, आपराधिक, हिंसात्मक, अनुचित काम भइरहेको टिप्पणी गर्नुभयो। ‘लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैन, ओलीले थप्नुभयो– ‘सरकार लुलो र फितलो भएकाले यस्ता गतिविधि गर्नेले प्रश्रय पाइरहेका छन्।

ओलीले सरकारले लुटेरा र बलजफ्ती प्रवृत्ति देखाएको टिप्पणी गर्नुभयो। बाँकेको खजुरास्थित क्यान्सर अस्पताललाई सरकारले सुशील कोइराला क्यान्सर अस्पताल नामकरण गरेको र एनसेल प्रकरणलाई जोड्दै ओलीले त्यस्तो बताउनुभएको हो। ‘एउटाले मरिमरी बनाएको छ। सरकारले डाँकाको शैलीमा नाम परिवर्तन गर्छ, ओलीको आक्रोश थियो– ‘सक्ने भए आफैं अर्को बनाएर नामकरण गर्नु नि ? उहाँले एनसेल काण्डमा पनि सरकार पारदर्शी नभएको बताउनुभयो।

मधेसी मोर्चा र केही बाहिरी भक्त ‘सो कल्ड बुद्धिजीवीले तराईका जनतालाई अलमल्याउने गतिविधि गरेको ओलीको भनाइ थियो। ओलीले थप्नुभयो– ‘सो कल्ड, भाँड बुद्धिजीवी र अराजनीतिक, हिंसात्मक गतिविधि गरिरहेका मोर्चाले वातावरणलाई धमिल्याउने प्रयास गरिरहेका छन्। यसले चुनावलाई रोक्दैन।

ओलीले स्वाभिमानको कुरा गर्नेबित्तिकै कसैको मन भत्भती पोल्ने बताउनुभयो। ‘हामीले कसैलाई नेपाली होइनौ भनेकै छैनौं, कसैको नाम नलिएर ओलीले भन्नुभयो– ‘उनीहरू आफैंले कथा बनाउँछन्। आफैं वाचन गर्छन्। द्वन्द्व व्यवसायी, उद्यमीले त्यसलाई बढावा दिइरहेका छन्।

ओलीले मोर्चालाई संविधानको लाभ लिने र अराजनीतिक, अपराधिक गतिविधि गरिरहेको आरोप लगाउनुभयो। उहाँले संविधानले कसैलाई भेदभाव नगरेकोसमेत बताउनुभयो। ‘महोत्तरीको जमिनदारलाई रोल्पा छुट्याउनुपर्ने किन –ओलीको प्रश्न थियो।

मोर्चालाई लक्षित गर्दै ओलीले आफ्नो स्वार्थका लागि सर्वसाधारण जनताका छोराछोरीलाई उत्तेजित बनाएर मराउने गरेको बताउनुभयो। ‘यस्तो आपराधिक कार्य गर्नेलाई त राजनीतिक समूह नै मानिँदैन। तर, के गर्नु नेपालमा त्यहीको नाममा राजनीति चलेको छ –ओलीको टिप्पणी थियो।

एक प्रश्नमा ओलीले घर कुर्न कोही कोही बसेकोबाहेक एमालेको आम सभामा सबै जनता उत्रिएको बताउनुभयो। महासचिव ईश्वर पोखरेलले निर्वाचनलाई कुनै बहानामा सार्न र टार्न नदिन एमालेले मेची–महाकाली अभियान थालेर सतर्क गराएको बताउनुभयो। नेताहरू मेची–महाकाली अभियानको समापनसँगै सुर्खेतबाट फर्किने क्रममा नेपालगन्ज आइपुगेका थिए। पत्रकार भेटघाटमा प्रचार विभाग, बाँकेका इन्चार्ज किस्मतकुमार कक्षपतिले पार्टी अध्यक्ष ओलीलाई मायाको चिनो दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्