थवाङमा काँग्रेसलाई स्वागत



रोल्पा, ६ चैत । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली काँग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले स्वागत गरेका छन् ।

विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली काँग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान गरेको थियो ।

थवाङमा रहेका स्थानीय राजनीतिक दल र सर्वसाधारणसँग अन्तक्र्रिया गरी नेपाली काँग्रेस रोल्पाले थवाङको विकासका बारेमा छलफल गरेको थियो ।

थवाङी जनताले विगत लामो समयदेखि उठान गर्दै आएको विकास गतिविधिमा अगुवाइ गरिदिन पनि काँग्रेसलाई स्थानीय बासिन्दाले आग्रह गरेको काँग्रेस, रोल्पाका सभापति अमरसिं पुनले बताउनुभयो ।

नेपाली काँग्रेसको अगुवाइमा थवाङ विकास गुरुयोजना तथा जलजला पर्यटन विकास गुरुयोजना बनाउने काँग्रेस रोल्पाले प्रतिबद्धतासमेत जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्