हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो



SONY DSC

नेपाल समाचारपत्र
डोटी
डोटीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन हिजो शनिबारबाट शुरू गरिएको छ। मध्यपश्चिमका केही जिल्ला तथा डोटीमा पनि हात्तीपाइले रोगका बिरामी देखिएको भन्दै उक्त रोगविरुद्धको औषधि खुवाउन अभियान शुरू गरिएको हो। तीन दिनसम्म चल्ने उक्त अभियानको शनिबार दिपायल सिलगढी नगरपालिकाका कार्यकारी प्रमुख तुलसीप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले सुजंग अस्पताल राजपुर दिपायलमा आयोजन गरेको हात्तीपाइले रोगविरुद्धको अभियनमा कार्यकारी प्रमुख आचार्यले आफूले पहिला औषधि सेवन गरेर उक्त अभियानको शुभारम्भ गर्नुभएको हो। सो अभियानका प्रमुख अतिथिसमेत रहनुभएका कार्यकारी प्रमुख आचार्यले हात्तीपाइले रोगविरुद्धको औषधि खाएमा कसैलाई पनि खासै असर गर्ने नगरेकाले ढुक्कसाथ औषधि खान सल्लाह दिनुभएको थियो।

त्यस्तै उक्त अभियानका सभापति रहनुभएका जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य प्रशासक शतिस विष्टले हात्तीपाइले रोगका बिरामी डोटीमा पनि पछिल्लोपटक देखा परेकाले सो रोगको अन्त्य गर्नका लागि आफूहरूले यो अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हात्तीपाइले रोग निर्मूल पर्ने अभियानमा हामी जुटेका छौं, यो औषधि खाएर साइड इफेक्ट केही हुँदैन, औषधि खाएर अभियान सफल बनाउनुहोस्।’ सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका फोकलपर्सन तेजविक्रम शाहीले डोटीमा हात्तीपाइले रोगका कारण हाइड्रोसिल भएका २५ जना तथा ५ जनामा हात्तीपाइले रोग नै भइसकेको तथ्यांक सर्वजनिक गर्नुभएको थियो।

कार्यक्रमका अर्का अतिथि तथा जिल्ला अस्पतालका डाक्टर घनश्याम भट्टले हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले खासै कसैलाई पनि असर नगरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘औषधि सेवनले हजारौंमा एक जनालाई सामान्य केही इफेक्ट देखायो होला, इफेक्ट भयो भन्दैमा अत्तिहाल्नुपर्ने अवस्था हँुदैन।’ उक्त अभियानमा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मा, प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलगायत हात्तिपाइले रोगविरुद्धको औषधि खान आएका दर्जनौं स्थानीयको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्