अस्पतालमा शव राखेर क्षतिपूर्ति माग



रोशन पराजुली, हेटौंडा
रेहिल अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले विरोध प्रदर्शन गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका कालीकाटार घर भएर हाँडीखोला–८, दर्दरामा बस्दै आएका करिब १६ वर्षीय किसान वाइबाको एपेन्डिक्स शल्यक्रिया गर्ने क्रममा लापरबाही गरिएका कारण उनको मृत्यु भएको भन्दै हेटौंडा–११, थानाभर्याङस्थित अस्पताल परिसर र राजमार्गमा विरोध प्रदर्शन गरिएको हो।

वाइबाको एपेन्डिक्स शल्यक्रिया गर्दा लापरबाही गरिएको भन्दै आफन्तले थप उपचारका लागि भरतपुर लगिएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताएका छन्। उनीहरूले किसानको शवलाई अस्पताल परिसरमा राखेर क्षतिपूर्ति माग गरेका थिए। चत वाइबाको शुक्रबार राति मृत्यु भएको आफन्त ठाकुर वाइबाले जानकारी दिए। चुरेहिल हस्पिटलमा शल्यक्रियापश्चात् थप उपचारका लागि चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा रिफर गरिएको वाइबाले बताए।

चुरेहिलमा एपेन्डिक्स गलत ठाउँमा शल्यक्रिया गरी आन्द्रा काटिँदा किसानको मृत्यु भएको मेडिकल कलेजले जनाएको मृतकका मामा सागर लामाले बताए। ‘चैत १ गते उपचार गर्न हिँडेर आएका किसानको अस्पतालको लापरबाहीले ज्यान गयो’ –उनले भने। उनका अनुसार शल्यक्रियापछि दुई दिन आईसीयूमा राखेर उपचार गरेपछि थप उपचारका लागि भन्दै चुरेहिलले भरतपुर रिफर गरेको थियो।

चुरेहिल हस्पिटलबाट रिफरपश्चात् चितवनको पुरानो मेडिकलमा उपचारका क्रममा डाक्टरले बिरामीको अवस्था नाजुक रहेको बताउँदै गतल शल्यक्रिया गरेकाले यस्तो अवस्था आएको बताएको पीडित पक्षको भनाइ छ। मृतकका आफन्तले हेटौंडाका डाक्टरलाई हदैसम्मको कारबाही माग गरेका छन्। गलत शल्यक्रिया गर्ने डाक्टरलाई कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म अस्पतालबाट शव नउठाउने आफन्तले बताएका छन्। उनीहरूले अस्पतालमा नयाँ बिरामी भर्ना हुन दिएका छैनन्। आफन्तले एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। शनिबार बिहानदेखि स्थानीय विरोध प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकर थापाले बताए।

आन्दोलन नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो। प्रहरीको लाठीचार्जबाट एक प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ। गल्ती कमजोरी भए डाक्टर वा अस्पतालले सजाय भोग्न र क्षतिपूर्ति दिन तयार रहेको हस्पिटल सञ्चालक नारायण श्रेष्ठले बताए।

अस्पतालका प्रबन्ध निर्देशक रविरमण अधिकारीले बिरामीको अवस्था निकै नाजुक रहेको र डाक्टरहरूले बचाउन हरप्रयास गरेको बताए। उक्त घटना लापरबाहीका कारण नभएको उनको दाबी छ। भिडियो एक्सरे गर्दा आन्द्रा सुन्निएको अवस्थामा देखिएको र आन्द्राको समेत शल्यक्रिया गर्नुपरेको तर बिरामीको अवस्था निकै नाजुक रहेकाले उनलाई बचाउन नसकिएको अस्पतालस्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्