ललितपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती मनाइयो



ललितपुर, (नेस)

ललितपुर उद्योग वाणिज्य संघले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा राष्ट्रियस्तरको उत्पादकत्व अवार्ड दिने घोषणा गरेको छ। संघको ५०औं स्थापना दिवस एवं स्वर्ण जयन्तीको अवसरमा शुक्रबार ललितपुरमा आयोजित समारोहमा संघका अध्यक्ष सविन श्रेष्ठले सो घोषणा गर्नुभएको हो।

उक्र अवार्ड विभिन्न विभिन्न व्यक्ति वा संस्थालाई उत्पादकत्वको गुणस्तर, रोजगारलगायत विभिन्न आधारमा मापन गरेर दिइने संघले जनाएको छ। संघले आफ्नो स्वर्णजयन्ती लोगो अंकित सिक्का निष्काशन गर्ने पनि जनाएको छ। स्वर्ण जयन्तीको उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालको आर्थिक विकासलाई अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो।

मन्त्री जोशीले लगानी सम्मेलनमा आएको प्रतिबद्धताले उत्साहित भएको बताउँदै सोही अनुरुप काम गर्ने संकल्प व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका स्वर्ण जयन्तीलाई आम उद्योगी व्यवसायीको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि विभिन्न जातीय समाज, वस्तुगत संघ, महिला समूह सहभागिता प्रभातफेरी गरिएको थियो। सो अवसरमा कलाकार वत्सगोपाल वैद्यले बनाउनुभएको स्वर्ण जयन्ती अंकित लोगोको अनावरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्