व्यावसायिक वातावरण सुदृढ हुँदै गएको छ



सविन श्रेष्ठ
अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ

ललितपुर उद्योग वाणिज्य संघले शुक्रबार ५०औं स्थापना दिवस तथा स्वर्ण जयन्ती मनाउँदै छ। स्वर्ण जयन्ती मनाउने तयारी हुँदै गर्दा संघका अध्यक्ष सविन श्रेष्ठसंँग नेपाल समाचारपत्रका निम्ति गरिएको कुराकानी।

तपाई अध्यक्ष हुनुभएको बेला संघले स्वर्ण जयन्ती मनाउन गइरहेको छ। व्यक्तिगत रूपमा कस्तो महशुस भइरहेको छ ?

स्वर्ण जयन्ती मनाउने वर्षको अध्यक्ष हुन पाएकोमा म आफैंलाई निकै भाग्यमानी महशुस गरिरहेको छु। म मात्र नभई सिंगो कार्यसमिति नै भाग्यमानी रहेको छ।

ललितपुर उद्योग वाणिज्य संघ ५० वर्ष पुगिसकेको अवस्थामा हाम्रो पनि जिम्मेवारी बढ्दै गएको अनुभूति भइरहेको छ। ५० वर्ष पुगिसकेको संस्था भनेपछि मानिसले हेर्ने दृष्टिकोण, आशा र अपेक्षा पनि स्वभाविक रूपमा बढ्ने गर्दछ। संघको उपलब्धिलाई रक्षा गर्दै थप उचाई प्राप्त गर्ने चुनौती रहेको छ। यो चुनौतीसंँग जुध्नु हाम्रो दायित्व पनि हो।

स्वर्ण जयन्तीको अवसरमा के कस्तो कार्यक्रम हुन गइरहेको छ ?
स्वर्ण जयन्तीको अवसरमा धेरै कार्यक्रम गर्ने सोच बनाइरहेका छौं। स्वर्ण जयन्ती मनाउन गइरहेको संस्था भएकाले यसको पहिचानलाई महत्त्व दिएर अघि बढ्नुपर्दछ भन्ने हाम्रो मान्यता हो। नियमित कार्यक्रमका अतिरिक्त संघलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान दिन सक्ने कार्यक्रमलाई प्राथमिकता दिएका छौं।

स्वर्ण जयन्तीको अवसरमा देशभरबाट उत्पादकत्व, उत्पादनशीलताको क्षेत्रमा महत्त्वपूर्ण काम गरेका संस्था, व्यक्ति र कम्पनीलाई राष्ट्रिय उत्पादकत्त्व अर्वाड दिन गइरहेका छौं। राष्ट्रियस्तरमा रूपमा अघि सारेको यो एउटा महत्त्वपूर्ण कार्यक्रम हो। यो अर्वाड दिन उद्योग मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघलगायतको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय निर्णायकमण्डल हामीले बनाएका छौं।

जिल्लाका उद्योगी व्यवसायीलाई राष्ट्रियस्तरमा पुर्याउने वा राष्ट्रियस्तरमा काम गरिरहेका संस्था वा कम्पनीलाई अवार्ड दिनुमध्ये कुन बढी महत्त्व राख्दछ ?
ललितपुर उद्योग वाणिज्य संघ जिल्ला उद्योग वाणिज्य संघ पक्कै हो। यसमा शंका रहेन। जिल्लाका उद्यमी व्यवसायीलाई राष्ट्रियस्तरमा पुर्याउने दायित्व हामीेले बिर्सिएका छैनौं। यद्यपि, त्यसमा मात्र सीमित हुनुपर्दछ भन्ने पनि हाम्रो उद्धेश्य रहेन। संघलाई राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा जाने हाम्रो सोचाई रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नेदेखि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हामीले हाम्रो उपस्थिति देखाउँदै आएका छौं।

राष्ट्रिय अर्वाड दिन शुरू गर्नु राम्रै हो, हाम्रो दायित्व बाहिरको विषय हो भनेर लागेको छैन। ललितपुरका व्यवसायीलाई राष्ट्रियस्तरमा पुर्याउन सक्नु हाम्रो सफलता पक्कै पनि हो। यो हाम्रो उद्धेश्य पनि हो, दायित्व पनि हो। ललितपुरका उद्यमी व्यवसायीलाई राष्ट्रियस्तरमा पुर्याउनु एउटा बाटो छ र राष्ट्रियस्तरमा पुगिसकेकालाई सम्मान गर्नुपनि हाम्रो दायित्व हो। राष्ट्रिय उत्पादकत्व अवार्डको थालनीले संघको पहिचानसँगै जिल्लाका उद्यमी व्यवसायीलाई पनि उत्प्रेरित गर्ने छ।

संघ स्थापना भएको ५० वर्ष भइसक्दा पनि पहिचान राख्नका लागि मात्र काम गर्नुपर्ने आवश्यकता रहन्छ त ?
संघको पहिचानको लागि ५० वर्ष मात्र नभई सधैंका लागि काम गर्न आवश्यक हुनेछ। ५० वर्षमा पहिचान कायम भइसकेको छ। थप उचाईबाट पहिचान कायम गर्दै लग्नुपर्ने आजको आवश्यकता हो।

५० वर्ष मनाईरहँदा संघले हासिल गरेको महत्त्वपूर्ण उपलब्धि के हो जस्तो लाग्दछ ?
संघले ५० वर्षमा हासिल गरेको उपलब्धिलाई भौतिक र अभौतिक गरी वर्गीकरण गर्नुपर्ने हुन्छ। अभौतिक रूपमा भन्नुपर्दा ललितपुर उद्योग व्यवसायी संघ जिल्लाका सम्पूर्ण उद्यमी व्यवसायीको साझा र प्रतिनिधिमुलक संस्थाका रूपमा स्थापित भएको छ। ललितपुर उद्योग वाणिज्य संघ जिल्लाका सम्पूर्ण व्यवसायीको एक मात्र छाता संगठन हो। सम्पूर्ण वस्तुगत संघ, व्यवसायी र उद्योगीलाई संरक्षण दिँदै आइरहेका छौं। अहिलेको अवस्थामा ललितपुर उद्योग वाणिज्य संघलाई सबैले स्वीकारिएको संस्थाका रूपमा लिन सकिन्छ। अहिले वस्तुगत संघहरू पनि निकै वृद्धि भइरहेको छ, यो जरुरी पनि छ। आम ललितपुरबासीको मन जित्न पनि यो संस्था सफल भएको छ। ललितपुरको विविध क्षेत्रमा यसको उपस्थिति बलियो हँदै गएको छ।

यो त अभौतिक उपलब्धि हुन्, देखिने उपलब्धि चाहीँ के–के हुन् ?
ललितपुरका उद्यमी व्यवसायीहरू राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भिज्न सक्ने वातावरण तयार गर्दै लगेका छौं। जिल्लाका उद्यमी व्यवसायीलाई देशविदेशमा भिज्न सक्ने गरी प्रतिस्पर्धी बनाउन हामी प्रयत्नशील पनि छौं। त्यसबाहेक व्यवसायीको पेशागत, उद्यमशीलता विकास गर्न पनि हामी लागिपरेका छौं।
यी उपलब्धिमा तपाईको कार्यकालले कति टेवा पुर्याएको छ ?
आम व्यवसायीको आशा र भरोसाको केन्दुविन्दु बनाउन उनीहरूको समस्या समाधान गर्ने, उनीहरूको कुरा सुनिदिने र उनीहरूसँग नजिक रहेर काम गर्ने हिसाबले मेरो कार्यकालको अहिलेसम्मको उपलब्धिपूर्ण रह्यो। यसमा निकै सन्तुष्टि मिलिरहेको छ। व्यावसायिक वातावरण सुदृढ गर्ने हिसाबले मेरो कार्यकालको महत्त्वपूर्ण भूमिका रह्यो। ललितपुरको व्यावसायिक वातावरण अहिले निकै सुदृढ हुँदै गएको छ। पर्यटक उद्योग प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई साकार बनाउन लागिपरेका छौं।

तपार्इंको विचारमा संघले आउँदा दिनमा के कस्तो काम गर्दै अघि बढ्नुपर्दछ ?
ललितपुर उद्योग वाणिज्य संघ सम्पूर्ण व्यवसायीको हकहित र अधिकारका लागि नै स्थापना भएको संस्था हो। सोही अनुरूप यसले काम गर्नुपर्दछ नै। यी बाहेक शान्ति सुरक्षा र नागरिकको पिरमर्काका सवालमा प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने, कलाकृति संस्कृति सम्पदा शहर भएकाले यसको सरक्षण, सम्वद्र्धन, पुनर्निर्माणको सवालमा पनि यसले चासो लिँदै आएको छ। अहिले ललितपुर उद्योग वाणिज्य संघको दायरा निकै फराकिलो हुँदै गएको छ।

राजधानीसंँग जोडिएको जिल्ला भएकोले यसले राष्ट्रिय महत्त्वका आर्थिक सवाल र मुद्दाका विषयमा पनि सोच्नुपर्ने र सोच्नु आवश्यक रहेको छ। राष्ट्रियस्तरका आर्थिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउने काम हामीले गर्दै आएका छौं। ललितपुरलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्दछ। जिल्लामा विद्यमान आर्थिक विकासका सम्भावनालाई मूर्त रूप दिनु पनि उतिकै जरुरी रहेको छ। कला संस्कृति संरक्षणलाई पर्यटक उद्योगसंँग जोडेर अघि बढ्ने, जिल्लाको दक्षिण भेगमा रहेको कृषिको व्यावसायिक खेतीको विकासलगायत काम अघि बढाउनुपर्दछ। जिल्लाको अवस्थितिका हिसाबले आर्थिक विकासको रणनीतिक महत्वपूर्ण रहेको छ। शहर र गाउँ जोडिएको भू–भाग छ। यसले गर्दा उद्योग कलकारखाना, बजारको विकास गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्