पानी अभावले भूकम्पपीडितलाई घर बनाउन समस्या



फलेवास (पर्वत), ३ चैत । नजिकमा पानीको स्रोत नहुँदा पर्वतका विभिन्न गाविसका भूकम्पपीडित समस्यामा परेका छन् ।

पिउने पानीको समेत अभाव भएपछि भूकम्पले घर भत्किएकालाई पुनर्निर्माणमा समस्या परेको छ । भूकम्प गएपछि १६ महिना टहरामा बसेका शालिग्राम–५, हनुमानडाँडाका माधवप्रसाद भट्टराईले गत पुसमा नयाँ घर बनाउन थाले पनि पानी अभावले समस्या परेको बताउनुभयो । घर बनाउन थालेको केही दिनमै नजिकैको मूलको पानी सुक्यो । गारो लगाउन पानी नपाएर समस्या भएको उहाँले बताउनुभयो ।

हनुमानडाँडाकै गङ्गाराम, अनिल, शोभाखर, ज्ञानप्रसाद, टीकाराम, आनन्दमणि, भूपराज र रमेशचन्द्र भट्टराईलगायतले पनि पानी अभावकै कारण अझसम्म घर बनाउने आँट गर्न नसकेको बताएका छन् । खानेपानीको समेत अभाव झेल्दै आएका हनुमानडाँडाका बासिन्दाका लागि घर बनाउन चाहिने पानी बोक्न सम्भव नभएपछि पुनर्निर्माणमा समस्या परेको गुनासो गरेका छन् ।

“घरको जग हाल्ने बेलासम्म मूलमा अलिअलि पानी थियो,” माधवले भन्नुभयो, “भूकम्प प्रतिरोधी घर बनाउने भनेर पिलर हालियो । अहिले पिलर र टाइबिम भिजाउने पानी पनि नहुँदा समस्या परेको छ ।”

वर्षामा आकासे पानी जम्मा गरी घरको बाँकी काम गर्ने योजना बनाएका उहाँलाई वर्षाले नियमित काम गर्न अवरोध गर्ने डर रहेको छ । घर बनाउने पैसा सरकारले दिन्छ भनेर डेढ वर्षसम्म कुरेका भूकम्पपीडित प्राविधिक मूल्याङ्कनमा परे सरकारी पैसा नरोकिने बुझेपछि घर बनाउन तम्सिएका थिए । तर बढी प्रभावित क्षेत्रमा पिउने पानीको समेत अभाव भएपछि धेरैजसोले घर सुरु गर्न सकेका छैनन् । कतिपयले निर्माण गर्दागर्दैका घर बीचैमा छाडेका छन् । यो वर्ष लामो समय आकाशे पानी नपर्दा पानीका स्रोत सुक्न थालेकाले बढी समस्या भएको भूकम्पपीडितले बताएका छन् ।

“पिउने एक गाग्री पानीका लागि चिट्ठा हाल्नुपर्छ,” हनुमानडाँडाका अनिल भट्टराईले भन्नुभयो, “घर बनाउने पानी कहाँ खोज्नु ?” घर बनाउँदा दैनिक दुई हजार लिटरसम्म पानी आवश्यक पर्ने उहाँले बताउनुभयो ।

भूकम्पले बढी क्षति पु¥याएका रानीपानीको पोखराचौर र इमिचौर, शङ्करपोखरीको पुर्कोट तथा तिलाहारका केही बस्तीमा हिउँदका ६ महिना खानेपानीको समेत अभाव हुँदै आएको छ । भूकम्पका कारण नजिकका मूलसमेत सुक्न र अन्यत्रै सरेपछि झनै समस्या भएको रानीपानीका माधव पराजुलीले गुनासो गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्