सर्वसाधारणको काम प्रभावित



सरकारले स्थनीय तहमा नयाँ संरचनाअनुसार काम गर्न निर्देशन दिएसँगै आमसर्वसाधारणको काम प्रभावित भएको छ । राजपत्रमा प्रकाशित ७ सय ४४ वटा स्थानीय तहको संरचना भएसँगै गाभिएका स्थानीय निकायका सर्वसाधारण दैनिक सेवा–सुविधा लिनबाट तत्काल वञ्चित भएका छन् । खासगरी भूकम्पपीडितहरुको घरको नक्सा पास गर्न अझ असहज भएको छ । स्थानीय निकाय गाभिएसँगै सेवाग्राहीहरुको कतिपय दैनिक काम नै रोकिएको छ भने कतिपयको काम झन्झटिलोसमेत भएको छ ।

स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा गत शुक्रबारपश्चात् जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता तथा राहदानी वितरण गरिएको छैन । नयाँ संरचनाअनुसार गाउँपालिका तथा नगरपालिकाको वडाबाट सिफारिस गरिनुपर्ने भए पनि वडा कार्यालयको छाप तथा लेटर प्याड तयारी नहुँदा नागरिकता वितरणमा समस्या आएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । गाउँपालिका तथा नगरपालिकाको नयाँ संरचनाअनुसार वडा कार्यालयबाट सिफारिस आउनुपर्नेमा आउन नसकेको र कम्प्युटर सफ्टवयरमा पनि नयाँ संरचनाअनुसारको गाउँपालिका तथा नगरपालिकाको नाम नेपाली तथा अंग्रेजीमा नभएको कारण नागरिकता तथा राहदानी वितरणमा समस्या भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । अझ कतिपय जिल्लामा त पुरानो संरचना हुँदा नै सिफारिस लिएको र नागरिकता तथा राहदानी बनाउन बाँकी रहेका सेवाग्राहीले फेरि नयाँ संरचनाअनुासर सिफारिस लिनुपर्ने जनाइएको छ ।

काभ्रे जिल्लामा पनि दुई साताअघि बनाएको घरको नक्सा पास गर्न गाविस गएका अधिकांश भूकम्पपीडित सेवाग्राही फिर्ता हुनुपरेको छ । नया संरचनाअनुसार पुनः प्रक्रिया अघि बढाउन समस्या भएको बताइएको छ । सात महिनाअघि पुनर्निर्माण प्राधिकरणको नियमअनुसार बनाएको नक्सा अहिले नियम परिवर्तन भई पुनः बनाउनुपर्ने समस्या झेलिरहेका भूकम्पपीडितहरु नक्सा पास गर्न अब फेरि झन्झट व्यहोर्नुपरेको बताउँछन् । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानझँै सरकारी अड्डामा ढिलासुस्ती सधैँ भैरहन्थ्यो । अब पुनर्संरचनाअनुसार काम गर्नुपर्ने भनेर सरकारी कर्मचारी पन्छिन झन सजिलो भएको छ । कतिपय ठाउँमा नयाँ गठन भएको स्थानीय तहमा आउनसमेत सर्वसाधारणलाई गाह्रो हुने अवस्था छ । स्थानीय तह कार्यान्वयनमा गैसकेकाले पुरानै संरचनामा काम गर्नुपर्छ भन्ने हैन, तर पुरानो संरचनामा काम शुरु गरी पूरा नभएका सेवाग्राहीहरुका काम सकेसम्म सर्वसुलभ र छिटोछरितोसँग गरेर पठाउने व्यवस्था मिलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्