सौर्य एयरलाइन्सले जहाज थप्यो



नेपाल समाचारपत्र
काठमाडौं
सौर्य एयरलाइन्सले आइतबार थप एउटा जेट विमान ल्याएको छ। हाल एउटा मात्र जेट विमानबाट आन्तरिक उडान गर्दै आएको कमपनीले आफ्नो सेवा विस्तारका लागि अर्काे जहाज थपेको हो।

आइतबार आएको क्यानेडियन बम्बाडियर सीआरजे–२०० एयरक्राफ्टको भन्सार र नागरिक उडड्यन प्राधिकरणको प्रक्रिया पूरा गरेपछि दुई साताभित्र व्यावसायिक उडान गर्ने तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै भट्टराईले ५० सिट क्षमताको नयाँ जहाज थपिएपछि कम्पनीले दैनिक भैरहवामा २, धनगढीमा १ सहित विराटनगर र भद्रपुरमा पनि उडान थप्ने तयारी रहेको गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार कम्पनीले अर्को जहाज थप गरी जहाजको संख्या तीन पुर्याउने भएको छ। पहिलो जहाज आएको करिब छ महिनामा दोस्रो जहाज आएको र अर्को छ महिनामा तेस्रो जहाज ल्याउने कम्पनीको तयारी भट्टराईले बताउनुभयो।

पहिलो जहाज पनि ५० सिट क्षमताको बम्बाडियर सीआरजे–२०० रहेको छ। उक्त जहाजबाट दैनिक भद्रपुरमा २, विराटनगरमा २ र नेपालगन्जमा १ उडान गर्दै आएको छ। सौर्यको नयाँ विमान आइतबार करिब पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विदेशी पाइलटले संयुक्त राज्य अमेरिका हुँदै जमैकाबाट नेपाल ल्याएका थिए। नयाँ जहाज करिब अर्ब रुपियाँको लागतमा नेपाल भित्र्याइएको हो। कम्पनीले पहिलो व्यावसायिक उडान गत मंसिरबाट थालेको थियो। हाल दैनिक ४ सय यात्रुलाई सेवा दिँदै आएको कमपनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्