थप दुई नाकाबाट इन्धन आपूर्ति



आपूर्ति र वितरणको अनुगमन गरिँदै

हेमन्त जोशी, काठमाडौं

नेपाल आयल निगमले भैरहवा र नेपालगन्ज भन्सार नाकाबाट पनि इन्धन आयात गर्ने भएको छ। अमलेखगन्ज र रक्सौल नाकाबाट मात्र आयात गरिने इन्धनले माग धान्न नसकेपछि थप दुईवटा नाकाबाट एक–एक लाख लिटर पेट्रोल ल्याउन लागिएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो।

मागअनुसारको आपूर्तिलाई व्यवस्थापन गर्न औसतभन्दा बढी आयात गर्न लागिएको पोखरेलले बताउनुभयो। उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै निगमले शनिबार पनि सबै डिपोमार्फत इन्धन वितरण गर्ने जनाएको छ। त्यस्तै आइतबार भारतीय आयल निगम बन्द हुने भए पनि ट्यांकर भर्नका लागि निगमले आग्रह गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। तराई बन्दको घोषणापछि अहिले उपत्यकामा इन्धनको माग दोब्बरले बढेको छ। आयल निगमका अनुसार सामान्य अवस्थामा ४ देखि ५ सय किलोलिटर दैनिक माग रहेको उपत्यकामा मंगलबारदेखि दैनिक माग झण्डै दोब्बरले बढेकोे छ। विगतमा भएका मधेस बन्द र नाकाबन्दीबाट दुःख भोगेका सर्वसाधारणले अहिले पनि त्यस्तो अवस्था आउनसक्ने भन्दै बढी मौज्दात राख्दा समस्या देखिएको पोखरेलले बताउनुभयो।

थानकोट डिपो प्रमुख नेत्रप्रसाद काफ्लेका अनुसार धेरै ट्यांकरहरू एकैचोटी डिपोमा भित्रिएपछि पम्पहरूमा वितरणको काममा केही ढिलो भएको हो। करिब सय वटाको हाराहारीमा भित्रिएका ट्यांकरको नापतौल चेकजाँच र लोड अनलोड गर्दा केही पम्पहरूमा चाँडो र केही पम्पमा ढिलो गरी इन्धन ढुवानी गरिएको काफ्लेले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै काफ्लेले भन्नुभयो–‘थानकोट डिपोमा आईपुगरेर पम्पहरूलाई वितरण गर्न केही समय लागेकाले छोटो समयका लागि अभाव देखिएको हो। रातको समयमा स्कर्टिङमार्फत ल्याइएको इन्धन बिहीबार ढिलो गरी उपत्यका भित्रिएपछि एकैचोटी पम्पहरूमा वितरणमा गर्न ढिलाई भएको हो।’ मंगलबारयता नाकाहरूबाट रातको समयमा मात्र इन्धन नेपाल भित्रिइरहेको छ। ८ हजार ४ सय किलोलिटर डिजेल र १२ सय किलोलिटर भण्डारण क्षमता रहेको थानकोट डिपोमा क्षमताको ८० प्रतिशत इन्धन मौज्दात रहेको छ।

आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठका अनुसार चालक र व्यवसायीहरूले ढुवानीमा अलमल गर्ने र सम्बन्धित निकायले प्रभावकारीरूपमा पम्पहरूमा अनुगमन नगर्दा समस्या निम्तिएको हो। आयल निगमले माग अनुसार आपूर्ति भइरहेको बताईरहँदा पनि पेट्रोल पम्पमा लाइन किन होला ? भन्ने जिज्ञासामा श्रेष्ठले सबै पम्पहरूमा एकैचोटी अनुगमन गर्न सम्भव नभएको र प्रभावकारी अनुगमनका लागि ३ वटा टोली खटाएको बताउनुभयो।

शुक्रबार दिउँसो आयल निगमले इन्धन व्यवसायीहरूसंँग आयात र आन्तरिक ढुवानीलाई कसरी बढी प्रभावकारी बनाउन सकिन्छ र समयमै पर्याप्त मात्रामा इन्धन वितरण गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो। मंगलबारदेखि निजी पम्पहरूले तेल सकिएको भन्दै वितरण नगरेपछि त्यसको प्रत्यक्ष असर सरकारी पम्पहरूमा देखिएको छ।

बन्दले आयात र ढुवानीमा प्रभाव पारेपछि उपत्यका, विराटनगर, पोखरालगायत ठूला शहरमा वितरणमा पनि समस्या देखिएकोे छ। सामान्य अवस्थाको माग अनुरूप नै आपूर्ति भइरहेकाले उपभोक्तालाई संयम रहन निगमले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्