प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू



ताप्लेजुङ, (नेस)

कृषिलाई नाफामुखी व्यवसायका रूपमा विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले शुरु गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ ताप्लेजुङमा पनि शुरु भएको छ।

१० वर्षसम्म सञ्चालन हुने परियोजनाअन्तर्गत प्रारम्भिक चरणमा अलैंची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलु खेतीका लागि १५ वटा पकेट क्षेत्र र अलैंची र आलुका लागि मात्र दुई वटा ब्लकमा सो परियोजना लागू भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ।

दुई वटा ब्लकमा अलैंची खेतीका लागि हाङ्देवा र फुरुम्बु गाविस छनोटमा परेका छन् भने आलु खेतीका लागि ताप्लेजुङ नगरपालिका, खोक्लिङ र चाँगे गाविस छनोटमा परेको कार्यालयले बताएको छ। १५ वटा पकेट क्षेत्रको भने प्रस्ताव आह्वान गरिएकाले चैत ११ गतेपछि छनोट गरीने बताइएको छ।

कार्यालयले सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी गराइएको छ। परियोजनाअन्तर्गत चालू आर्थिक वर्षमा जिल्लामा कुल १ करोड ९६ लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख रवीन्द्र बहादुर प्रधानले जानकारी दिनुभयो।

हरेक पकेट क्षेत्र अर्थात् साना व्यावसायिक कृषि उत्पादन केन्द्र १० हेक्टर क्षेत्रफलको हुनेछ। यस्तै ब्लक अर्थात् व्यावसायिक कृषि उत्पादन केन्द्र १५० हेक्टर क्षेत्रफलमा सञ्चालन हुने प्रावधान रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका योजना अधिकृत किसुन देव राउतले बताउनुभयो।यो योजनाले युवाको विदेश पलायनका कारण खस्किदै आएको कृषि पेसामा आकर्षण बढाउन मदत पुग्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्