ट्राफिक कारबाहीबाट १९ करोड राजस्व



काठमाडौं, (नेस)
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षको माघ मसान्तसम्म ट्राफिक कारबाहीमार्फत् १९ करोड २२ लाख रुपियाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको सबैभन्दा धेरै पुसमा ६१ हजार १ सय १९ वटा कारबाहीमार्फत् ३ करोड २० लाख ५६ हजार रुपियाँ र माघमा ५७ हजार ३ सय १६ वटा कारबाहीमार्फत् २ करोड ९८ लाख १४ हजार रुपियाँ राजस्व संकलन भएको हो।

मादक पदार्थ सेवन, लेन अनुशासन मिच्ने, बिना लाइसेन्स सवारी चलाउने, सवारी कर नतिरेकोलगायत शीर्षकमा गरिएको जरिवानामार्फत उक्त रकम संकलन भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार ३ लाख ६७ हजार ६ सय वटा कारबाही गरिएकोमा १६ हजार ७ सय ७३ वटा मादक पदार्थ सेवनका घटना रहेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई १ हजार रुपियाँ कारबाही हुने व्यवस्था छ। यसरी मापसेबाट मात्रै १ करोड ६७ लाख ७३ हजार रुपियाँ राजस्व संकलन भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकारीका अनुसार धेरैले ट्राफिक कारबाहीलाई कमिसनको विषयसंँग जोड्ने गरेको बताए। ‘हामीले कारबाही गर्दा कमिसनको लागि कारबाही गर्ने गरेको आरोप आउँछ तर कारबाहीको उद्धेश्य बढी राजस्व संकलन गरी कमिसन खाने नभई ट्राफिक नियमको पालना गराउनु नै हो,’ प्रहरी अधिकारीको दाबी छ। हाल ट्राफिक प्रहरीले जरिवानाबाट उठेको रकमको १५ प्रतिशत कमिसनका रूपमा पाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्