ट्राउटबाट ६० लाख आम्दानी



????????????????

नेपाल समाचारपत्र,रसुवा

रसुवामा गत वर्ष रेन्बो ट्राउट माछा बिक्रीबाट माछापालक कृषकले ६० लाख रुपियाँ आम्दानी लिन सफल भएका छन्। जिल्लाको दुई वटा गाविसमा सञ्चालित सात वटा व्यावसायिक माछा फर्मले माछा बिक्रीबाट ६० लाख आम्दानी लिन सफल भएका हुन्। धुन्चे र स्याफ्रु गाविसमा सञ्चालित फर्ममा ८० वटा रेसवेबाट ६ दशमलब ६ मेट्रिक टन माछा उत्पादन भएको छ।

जिल्लामा उत्पादन भएका माछामध्ये ८० प्रतिशत जिल्लाभित्र नै खुद्रा बिक्री हुने गरेको छ भने २० प्रतिशत माछा छिमेकी मुलुक चीनको केरुङ र काठमाडांैमा निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ। जिल्लाभित्र ताजा माछा अहिले प्रतिकिलो १३ सय रुपियाँमा बिक्री भइरहेको कृषकले बताएका छन्।

जिल्लामा रहेका तीन वटा निजी फर्महरुले माछा भुरा समेत उत्पादन गर्दै आएका छन्। तीन वटा फर्ममा वार्षिक दुई लाख भुरा उत्पादन हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले जानकारी दिनुभयो।
रेन्वो ट्राउटको भुरा बिक्रीबाट रसुवामा निजी क्षेत्रले वार्षिक १० लाखभन्दा बढी आम्दानी लिने गरेका छन्। रसुवामा २०६१ सालदेखि व्यावसायिक रेन्वो ट्राउट माछापालन शुरू भएको हो। धुन्चेका लवाङ ग्याल्वो घलेले रसुवामा रेन्वो ट्राउट शुरू गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्