‘मलाई निद्रा लाग्नै छोडेको छ’



मोतीराम तिमल्सिना, काभ्रे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिनुभएको छ।
उहाँले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षड्यन्त्रले कुनै दल र नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गर्नुभयो।

नेकपा माओवादी केन्द्र काभ्रेले जिल्लाको ऐतिहासिक स्थान कामिडाँडामा आयोजना गरेकोे शहीद सप्ताहको छैटौं दिन शुक्रबार प्रधानमन्त्री दाहालले शहीदका परिवारलाई सम्मान र सांस्कृतिक कार्यक्रमको जनसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।
‘१० वर्षे जनयुद्ध पछिको १० वर्षको अवधिमा माओवादीले भोगेका कठिन चुनौतीबाट निरास भएको छैन’, दाहालले भन्नुभयो– ‘माओवादी सिध्याउने षड्यन्त्र भयो भने अर्काे ठूलो जोखिम मोल्न तयार छौं, माओवादी जोखिम उठाउने जात नै हो त्यसका लागि तयार भएका छौं।’

कामिडाँडाका जनताले प्रधानमन्त्री आँगनमै आएका बखत राखेका थुप्रै मागहरूलाई दाहालले निर्वाचन आचारसंहिताका कारण तत्कालै पूरा गर्न नसके पनि आगामी बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। बेथान्चोक गाउँपालिकाका संयोजक मदन सिं तामाङ ‘पेमा’ले प्रधानमन्त्री दाहालसमक्ष सडक पक्की, पर्यटन क्षेत्रको विकासलगायतका मागहरू प्रधानमन्त्री दाहाललाई पेस गरेका थिए।

प्रधानमन्त्री दाहालले ठूला मिडिया आफ्नो पक्षमा नभएका कारण ७ महिनामा भएका कामहरूसमेत प्रचार हुन नसकेको दुखेसो पोख्नुभयो। ‘मिडियालाईसमेत माओवादी पुनः जाग्छ भन्ने चिन्ता छ’, दाहालले भन्नुभयो– ‘राष्ट्रिय गौरवका आयोजना, निर्वाचन घोषणा, लोडसेडिङ अन्त्यजस्ता काम भएका छन् तर खै त माओवादीले गरेका कामको प्रचार?’

प्रधानमन्त्री दाहालले एउटाले संशोधन हुनै नदिने र अर्काे संशोधन नगरी निर्वाचन हुन नदिने परिस्थितिका कारण निर्वाचन नहोला कि भन्ने आशंका पैदा भएकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो। निर्वाचन हुनै नदिने देशीविदेशी षड्यन्त्र भएकाले त्यसलाई चिर्दै र निर्वाचनको प्रक्रिया र संविधान संशोधन सँगसँगै लैजाने काममा सरकार लागिरहेको दाहालले बताउनुभयो।

‘केही शक्तिहरू सिंहदरबारको अधिकार गाउँमा दिन हुँदैन भन्ने अभियानमा स्थानीय तहको निर्वाचन रोक्न लागेका छन्, स्थानीय तहको निर्वाचनले मात्रै संविधान कार्यान्वयन हुनसक्छ’, निर्वाचन आचारसंहिता लागू भइसके पनि हेलिकोप्टर चढेर पार्टीको कार्यक्रममा आउनुभएका प्रधानमन्त्री दाहालले कांग्रेसलाई व्यंग्य गर्दै भन्नुभयो– ‘गणतन्त्रको माया टाउकोको मूल्य तोक्नेलाई भन्दा माओवादीलाई छ, त्यसको कार्यान्वयन संविधान कार्यान्वयन मात्रै हो।’

वैशाखमा तोकिएको निर्वाचन गर्न नसकिए माघभित्र तीन तहको निर्वाचन हुन नसक्ने बताउनुहुँदै दाहालले कामिडाँडा र चुनवाङ ‘जनयुद्धँको इतिहास भएको बतउनुभयो। कामिडाँडाबाटै माओवादीले संविधान सभामार्फत् शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय २०६२ सालमा गरेको थियो। त्यही आयोजना गरिएको बैठकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका नेताहरूसमेत सहभागी भई रिमको बैठकसमेत बसेको थियो।

दाहालले जनमुक्ति सेनाको कमान्डरको हैसियतमा शान्ति प्रक्रियाअघिको अन्तिम सम्बोधन कामिडाँडामै गरेको स्मरणसमेत गर्नुभयो। १० वर्षपछि कामिडाँडा पुग्दा आफूले जनयुद्धमा गरिएको कामको समीक्षा, देश र विदेशमा भएको घटनाक्रमको विश्लेषणसमेत गरिएको दाहालले बताउनुभयो।

‘आजभोलि मलाई राति निद्रासमेत लाग्न छाडेको छ, जसरी पनि निर्वाचन गराइछाड्ने मेरो अठोट पूरा गरेरै छाड्छु, म सहज अवस्थामा प्रधानमन्त्री भएको छैन, अप्ठ्यारो अवस्थामा भएकाले त्यसको चुनौती पार गर्छु।’ –दाहालले भन्नुभयो।

पटक–पटक भावुक भएका प्रधानमन्त्री दाहालले १० वर्षसम्म कामिडाँडामा कुनै परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो।
कार्यक्रममा माओवादीका नेताहरू अमिक शेरचन, कमान सिं लामा, सूर्यमान दोङ, रुकु चौलागाईं, इन्द्रबहादुर थिङ, पेमा लामालगायतले कामिडाँडाका बारेमा चर्चा गरेका थिए। काभ्रेमा माओवादीका २ सय ८० जना कार्यकर्ता युद्धका क्रममा मारिएका थिए भने २० भन्दा धेरै परिवारका सदस्य अझै बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्