राजस्व ३८ प्रतिशतले वृद्धि



हेमन्त जोशी, काठमाडौं
जस्व अनुसन्धान विभागले गत आर्थिक वर्षको पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्ममा ३८ दशमलब ५५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ। विभागले यस अवधिमा ६७ करोड ८८ लाख ९३ रुपियाँ बढी राजस्व संकलन भएको जनाएको छ।

विभागले चालू आर्थिक वर्षको माघ मसान्तसम्म २ अर्ब ६ करोड १५ लाख ६४ हजार रुपियाँ राजस्व संकलन गरेको हो। उक्त रकम गत वर्षको कुल राजस्व असुलीभन्दा २४ करोड रुपियाँ मात्रै कम रहेको विभागले जनाएको छ। भन्सार महशुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आयकरलगायतमा भएको अनुसन्धानबाट र धरौटीमार्फत यो रकम असुल गरेको हो। जसमा अवैध सुनबाट संकलित राजस्व भने नजोडिएको विभागले जनाएको छ।

विभागले राजस्वतर्फ १ अर्ब १० करोड ४९ लाख ६५ हजार र धरौटीतर्फ ९५ करोड ६५ लाख २ हजार रुपियाँ असुली गरेको हो। राजस्वतर्फ भन्सार महशुल २२ करोड ५ लाख ५७ हजार रुपियाँ, मूल्य अभिवृद्धिकरमार्फत् ७० करोड ७२ लाख ६३ हजार, अन्तःशुल्कमार्फत् ३ करोड ५९ लाख, आयकरमार्फत् १२ करोड ४८ लाख ५६ हजार रुपियाँ, र अन्य शीर्षकमा १ करोड ९३ लाख ८९ हजार रुपियाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष माघ महिनासम्मको तुलनामा यस आर्थिक वर्षमा राजस्वतर्फको भन्सार महशुलमा ८ करोड २ लाख ७१ कम राजस्व उठेको छ। त्यस्तै मूल्य अभिवृद्धि करमा भने ६२ करोड ७२ लाख ३२ हजारले बढी राजस्व असुली भएको छ। अन्तःशुल्कमा गत वर्षको तुलनामा २ करोड ८७ लाख ५७ हजार र आयकरमा ८ करोड ५९ लाख ६२ हजार रुपियाँ बढी राजस्व संकलन भएको छ।
त्यसैगरी धरौटीतर्फ माघ मसान्तसम्ममा ९५ करोड ६५ लाख ९८ हजार रुपियाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा कुल ३३ करोड ८७ लाख रुपियाँ धरौटी दाखिला भएको हो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सात महिनामा मात्र ३५ दशमलव ४ प्रतिशत बढी हो।

राजस्व अनुसन्धान विभागका सूचना अधिकृत देवीप्रसाद थपलियाका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नै गत आर्थिक वर्षको कुल राजस्व संकलन बराबरनै संकलन भएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा मुद्दा फ्छर्याेट बढेकाले राजस्वमा पनि वृद्धि भएको थपलियाले बताउनुभयो। राजस्व चुहावटको दृष्टिकोणबाट उच्च जोखिममा रहेका करदाताको बैकिङ कारोबार र भगिनी संस्थाको आर्थिक विवरणलाई उच्च महत्त्वका साथ अनुसन्धान गरिरहेको पनि अधिकृत थपलियाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्