प्रधानमन्त्री कप फागुन १४ देखि



कुमार श्रेष्ठ, बाँके

राष्ट्रिय गौरवको प्रतियोगिता प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ।

खेल शुरू हुन एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आइतबार पत्रकार भेटघाट आयोजना गर्यो। खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजकले सद्भावना दूतसमेत घोषणा गरेको छ। नेपालगन्ज निवासी चर्चित क्रिकेटर महेश क्षेत्रीलाई प्रधानमन्त्री कप चौथो संस्करणको सद्भावना दूत मनोनयनको प्रमाणपत्र मन्त्री सिंहले हस्तान्तरण गरे।

नेपालको लोकप्रिय खेल भलिबल प्रतियोगिताको सद्भावना दूत बनाएकामा क्रिकेटर क्षेत्रीले आयोजकप्रति आभार प्रकट गरे। ‘जिल्ला, क्षेत्र र देशका लागि धेरै खेलें, तर गृहनगरमा मैले पहिलोपटक यस्तो अवसर पाउँदा निकै उत्साही छु, क्रिकेटर क्षेत्रीले भने– ‘मेरो शहर नेपालगन्जलाई खेलकुदको शहरका रुपमा विकास गर्ने सपना छ, भविष्यमा खेलाडीको शहर बनाउने अभियानमा प्रतिबद्ध भई लाग्नेछु।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रभावशाली विकेटकिपर महेशले नेपालका लागि दर्जनौं प्रतियोगिता खेलेका छन्। आईसीसी यू–१९ वल्र्ड कप (श्रीलंका २००६), आईसीसी वल्र्ड लिग डिभिजन ५ (जर्सी, लण्डन), आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ (इटाली), आईसीसी टी–२० वल्र्ड कप क्वालिफायर २०१३ (यूएई), आईसीसी वल्र्ड कप क्वालिफायर २०१४ (न्युजिल्यान्ड), वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप (स्कटल्यान्ड) उनले नेपालको जर्सी लगाएका ठूला प्रतियोगिता हुन्।

सद्भावना दूत मनोयनको प्रमाणपत्र हस्तान्तरण गरेपछि मन्त्री सिंहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई खुसी दिने माध्यम भनेको खेलकुद नै रहेको चर्चा गरे। ‘कुनै पनि खेलमा नेपालले जित्दा हाम्रो राष्ट्रिय झण्डा फर्फराउँछ’, मन्त्री सिंहले भने– ‘आजको दिनसम्म आम नेपालीको मुहारमा खुसी ल्याउने माध्यम खेलकुद नै हो र खेलकुदको कार्यक्रममा उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ।’ समृद्ध समाजको मेरुदण्ड स्वास्थ्य भएको चर्चा गर्दै मन्त्री सिंहले खेलाडी नै स्वास्थ्यका संवाहक रहेको बताए।

प्रधानमन्त्री कपको चौथो संस्करणमा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी (काठमाडौं), पश्चिमाञ्चल टिम (पोखरा) र मध्यपश्चिम टिम तथा भारतबाट दुई टिम सहभागी रहनेछन्। पहिलो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो, दोस्रो संस्करणमा नेपाल एपीएफ क्लब र तेस्रो संस्करणमा रेलवे टिम (कोलकाता) च्याम्पियन बनेका थिए।

प्रतियोगिताका शीर्ष टिमलाई करिब दुई लाख नगदबाट पुरस्कृत गरिन्छ भने आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यवस्थापन गर्दै आएको छ। नेपालगन्ज रंगशालास्थित कभर्डहलमा म्याटमाथि यो प्रतियोगिता सञ्चालन हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्