ज्ञान निकेतन र स्वप्न वाटिकालाई उपाधि



काठमाडौं, नेस
ज्ञान निकेतन र स्वप्न वाटिकाले प्रथम सौर्य कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। ज्ञान निकेतन ब्वाइज र स्वप्न वाटिका गल्र्सतर्फ च्याम्पियन बने।

सिनामंगलस्थित आयोजक सौर्य इन्टरनेसनल सेकेन्डरी स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ५९–५३ ले पराजित गर्यो। ज्ञान निकेतनको जितमा सम्राट भूमिले ३२ अंक योगदान गरे।
गोल्डेनपिकले नेपाल सेन्ट्रललाई ६७–२५ को फराकिलो अन्तरले हराउँदै तेस्रो भयो। गोल्डेनपिकका विक्रम सिन्चुआरीले २२ अंक जोडे।

पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा स्वप्न वाटिकाले शत प्रतिशत जित निकाल्दै पहिलो भयो। अन्तिम दिन स्वप्न वाटिकाले युनिभर्सललाई ३०–१९ ले पाखा लगायो। विजेताकी विमल ऐडीले १४ स्कोर गरिन्। त्यसअघि स्वप्न वाटिकाले इनोभेटिभ, रिलायन्स पब्लिक र सौर्यलाई हराएको थियो।

रिलायन्स पब्लिक, युनिभर्सल र सौर्यलाई हराउँदै तीन खेलमा जित हात पारेको इनोभेटिभ दोस्रो भयो। युनिभर्सलले तेस्रो स्थानमा चित्त बुझायो। ब्वाइजमा ज्ञान निकेतनका मनीष तामाङ र गल्र्समा स्वप्न वाटिकाकी सर्मिला कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोािषत भए। ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि तथा गल्र्समा स्वप्न वाटिकाकी विमला ऐडी सर्वाधिक स्कोरकर्ता बने। प्रतियोगताकै सर्वाधिक स्कोरकर्ता बनेका सम्राटले ७६ तथा विमलाले ५२ अंक जोडेका थिए। ब्वाइजमा रिलायन्स तथा गल्र्समा सौर्यले अनुशासित टिमको उपाधि हात पारे।
विजेतालाई राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान, फिफा रेफ्री राजकुमार महर्जन, सौर्यका प्रिन्सिपल भीमहाङ लिम्बू, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चारदिने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ५ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्