कागजमै सीमित ‘फ्रि भिसा, फ्रि टिकट’



रोविन पौडेल, काठमाडौ

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका निम्ति पूर्ववर्ती सरकारले फ्रि भिसा, फ्रि टिकटको नीति लागू ल्याए पनि कार्यान्वयन हुन भने नसकेको नियमक निकाय वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वराज पाण्डेले नेपाल समाचारपत्रसँग कुरा गर्दै वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांशले सरकारले तोकेको लागतभन्दा तेब्बर बढी रकम तिरेर जाने गरेको पाइएको छ ।’ महानिर्देशक पाण्डेले नीति नियम बने पनि नियमित अनुगमन हुन नसक्दा कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । ‘कामदारहरु एजेन्टलाई तोकेको भन्दा बढी रकम बुझाए पनि १० हजार रुपियाँको मात्र रसिद काट्छन् ।

समस्यामा परेपछि हाम्रो ढोकामा गुहार्न आईपुग्दा कारबाही गर्ने कानुनी आधार हुँदैन।’ सरकारीस्तरबाट यस नीतिलाई कार्यान्वयन गराउन थुप्रै पहल गरिए पनि व्यवसायीबाट सहयोग नभएको उहाँको भनाइ छ । नीति खारेज नभए व्यवसाय नै बन्द गर्ने धम्की दिने गरेको महानिर्देशक पाण्डेले बताउनुभयो । सरकारबाट नीति लागू भइसकेकाले कार्यावयनका लागि कसैले रोक्न नसक्नेमा पाण्डेको दाबी छ ।
विदेश जान पाउने आशामा जति पनि शुल्क बुझाउनेको संख्यँ ठूलो छ । उदयपुरका नारायण दाहालले आफ्नो भाईलाई मलेसिया पठाउँदा म्यानपावर कम्पनीलाई आफ्नै हातले १ लाख ५५ हजार रुपियाँ तिरेको बताउनुभयो । ‘बीमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, कल्याणकारी कोषको रकम भन्दै हामीसँग १ लाख ४५ हजार रुपियाँ मागियो । थप १० हजार पनि कमिसन शुल्क भन्दै लिए, राम्रो कम्पनी, तलब, सुविधा र सजिलो कामका लागि भनेर हामीसँग त्यत्रो रकम मागिएको हो, थोरै पैसा तिरेर गाह्रो काममा पर्ने डरले हामी ठूलो रकम तिर्न बाध्य भयौं ।’ दाहालको भनाइ थियो।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ लाख ८९ हजार ४ सय ३३ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये ३४ हजार ७ सय ५९, भदौमा २४ हजार ९ सय ४९, असोजमा ३५ हजार ४ सय ८५, कात्तिकमा ३३ हजार ६ सय ५०, मंसिरमा ३० हजार २ जना र पुसमा ३० हजार ९ सय ८८ जना रहेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलब ९ प्रतिशत कम हो ।

वैदेशिक रोजगारीका निम्ति विशेषगरी मलेसिया, साउदी अरब, कतार, दुबई र कुवेतलगातका खाडी मुलुकमा जानेको संख्या अत्याधिक रहेको छ । वैदेशिक रोजगारीमा जानेको कुल संख्याको ९५ प्रतिशत उल्लेखित देशमा जानेको संख्या रहेको विभागको तथ्यांक छ । चालू आर्थिक वर्षमा मलेसियामा ४० हजार ६ सय ५० जना, साउदी अरेवियामा ६४ हजार ७ सय २८ जना, कतारमा ५७ हजार ३ सय ६ जना, दुबईमा १९ हजार ५ सय ७३ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यसैबीच समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ७ प्रतिशतले वृद्धि भई ३४२ अर्ब २३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ५ दशमलव ६ प्रतिशतले वृद्धि भई ३९९ अर्ब ९८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २० दशमलव ५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आउनुका साथै अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७३⁄७४ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२ दशमलव ५ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्