जताततै धूलो



ईश्वरराज ढकाल, काठमाडौं
राजधानीमा भइरहेको सडक मर्मतका क्रममा जताततै उत्पन्न धूलोले हैरान पारिरहेको बेलामा काठमाडौं र ललितपुरको विस्तारित सडक कालोपत्रे गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ९० करोड रुपियाँ माग गरेको छ।

काठमाडौं र ललितपुर उपमहानगरपालिका क्षेत्रभित्र पर्ने अधिकांश विस्तारित सडक धुलाम्य भएपछि ती सडक कालोपत्रे गर्न उक्त रकम माग गरिएको हो।
स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चालू आर्थिक वर्ष अगावै काम सञ्चालन गर्न ९० करोड रुपियाँ माग गरिएको बताउनुभयो। उहाँले राजधानीमा विस्तार गरिएका बाटोको अवस्था अत्यन्तै नाजुक बन्दै गएपछि रकम माग गरिएको बताउनुभयो।

काठमाडौं र ललितपुर उपमहानगरपालिकाले बाटोको लम्बाइसहितका विवरण मन्त्रालयमा पेस गरेपछि मन्त्रालयले प्रक्रिया अघि बढाएको छ।

सो मन्त्रालयले दुई महिनाअघि रकम माग गरेको थियो। माग गरेको रकममध्ये करिब ८० करोड रुपियाँ निकासा हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ। काठमाडौं महानगरपालिका भौतिक विकास विभाग प्रमुख उत्तरकुमार रेग्मीले ४० वटा विस्तारित सडक कालोपत्रे गर्न करिब ७४ करोड रुपियाँ माग गरेको बताउनुभयो। माग गरिएकोमध्ये केही रकम अर्थ मन्त्रालयबाट यसै महिना निकासा हुने चरणमा रहेको मन्त्रालयका सचिव अधिकारीले बताउनुभयो।

‘बजेट आउनासाथ काम अघि बढाउनेछौं’ –कामपा भौतिक विकास विभाग प्रमुख रेग्मीले भन्नुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा करिब २५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। केही एक वर्षीय र केही बहुवर्षीय योजनाअनुसार प्रक्रिया अघि बढिरहेको कामपाले जनाएको छ। ७४ करोड रुपियाँ निकासा हुने चरणमा रहेको जानकारी गराउँदै रेग्मीले भन्नुभयो– ‘रकम आउनासाथ अधिकांश सडक वर्षा अगाडि नै कालोपत्रे गर्ने काम सम्पन्न गर्नेछौं।’

ललितपुर उपमहानगरलिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले ललितपुरका करिब १५ वटा विस्तारित सडक कालोपत्रे गर्न करिब १० करोड रुपियाँ माग गरिएको बताउनुभयो। उहाँले १५ वटा प्याकेजका लागि उक्त रकम माग गरिएको बताउनुभयो। ‘रकम निकासा भए चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्नेछौं’ –उहाँले भन्नुभयो। यसैबीच राजधानीको सडक धुलाम्य हुन थालेपछि काठमाडौं महानगरपालिकाले ब्रुमर र पानी ट्यांकर प्रयोग गरेर सफाइलाई विशेष प्राथमिकता दिएको छ।

राजधानीका अति व्यस्त र विमानस्थल आवतजावत गर्ने सडकलाई धूलोरहित बनाउन शुरु गरिएको छ। मेलम्ची आयोजनाले थालेको बाहेकका स्थानमा सफाइ शुरु गरेको कामपाले दैनिक ५ वटा टइङ्कर र एउटा बु्रमर प्रयोग गर्ने गरेको छ। ‘विशेष गरी राजधानीको पुतलीसडक, कमलपोखरी तथा विमानस्थलदेखि माइतीघरसम्मको सडकलाई विशेष प्राथमिकतामा राखेका छौं।’ –कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार बिहान ६ देखि साढे ९ बजेसम्म सडक सफाइलाई तीव्रता दिइएको छ। नेपाल प्रहरीको सहयोगमा कामपाले सडकमा पानी हाल्ने काम जारी राखेको छ।

चीन सरकारले २०६७ सालमा उपहारस्वरुप कामपालाई उपलब्ध गराएको दुईवटा बु्रमर कामै नलाग्ने गरी बिग्रिएपछि सार्क सम्मेलनमा खरिद गरेको एउटा बु्रमरको भरमा राजधानीका सडक सफाइ भइरहेको छ। सामान नै नपाएर थन्किएका दुईवटा ब्रुमर दुई वर्षदेखि प्रयोगविहीन भएको विभागप्रमुख श्रेष्ठले जानकारी दिनुभयो। ती ब्रुमर पुनः मर्मत गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो। ‘एउटा ब्रुमरको भरमा सडक सफा गरिरहेका छौं। चारैतिरबाट गुनासो आउन थालेपछि कामपाले राजधानीका अधिकांश धुलाम्य सडकमा पानी हाल्ने र बु्रमर लगाउने काम शुरू गरेको हो।

प्रतिक्रिया दिनुहोस्