‘युद्धभन्दा पेचिलो शान्तिको लडाइँ’



फिरोज सिद्दिकी, सिरहा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दश वर्षको जनयुद्धभन्दा पनि शान्तिका लागि अहिले निकै पेचिलो लडाइँ लडिरहेको बताउनुभएको छ।

आइतबार सिरहाको लहानमा विपन्न महिला छात्रावास र वृद्धाश्रम निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत् महापुराण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो। मधेसी, जनजाति, मुस्लिमलगायतका सबै समुदायको हक र अधिकारका लागि पेचिलो लडाइँ जित्नैपर्ने बताउँदै यो लडाइँ जित्न नसके देश ठूलो भुमरीमा फस्ने उहाँको भनाइ थियो।

‘यति बेला मुलुकलाई दुई अतिवादको खतरा रहेको छ। एउटा अतिवाद जो देशलाई खण्डित गर्न उग्र भएको छ जसले मधेसलाई पहाडबाट अलग्याउन उद्दत छन् भन्ने अर्को एक मात्र समुदाय तथा वर्ग विशेषको उन्नति देख्ने मधेसी आदिवासी जनजाति दलित महिला मुस्लिमको अधिकार र पहिचान दिन नहुने अन्धराष्ट्रवादको पक्षपोषण गरिरहेका छन्’ –प्रचण्डको भनाइ थियो।

मधेसको जनताले नै आफूलाई जिताएर प्रधानमन्त्री बनाएको भन्दै मधेसी जनताले मागिरहेको पहिचान र अधिकार दिलाउन संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागिरहेको उहाँको भनाइ थियो। उहाँले निर्वाचनभन्दा अगाडि नै मधेसी मोर्चाको माग पूरा हुने गरी संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्री दाहालले निर्वाचन हुनुभन्दा अगाडि नै जनसंख्याको आधारमा गाउँपालिका वा स्थानीय तहको संख्या वृद्धि गर्ने बताउँदै राज्य पुनर्संरचनाको विवाद मिलाउन संघीय आयोग गठन गरेर अगाडि बढ्ने बताउनुभयो। युद्ध गरी शान्ति स्थापना गर्नेको रूपमा चिनिने सम्राट् अशोकाको भूमिकामा आफू काम गरिरहेको भन्दै मध्यमार्गी बाटो अपनाएर अघि बढ्ने खुलासा गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद प्रदीप गिरी, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायक, सांसदहरू पदमनारायण चौधरी र डा. गणेश साहलगायतको उपस्थिति रहेको थियो। फागुन ८ गतेदेखि १४ गतेसम्म हुने महायज्ञ लहानमा पहिलोपटक भइरहेको आयोजकले जनाएको छ। प्रवचन प्रवीण दिनबन्धु पोखरेलको मुखारविन्दुवाट हुने यस महायज्ञमा लहानका मुस्लिम समुदाय र दलित समुदायले समेत सघाउने गरेकाले धार्मिक भाइचारा मजबुत हुनुका साथै मधेसी पहाडीबीचको एकतालाई समेत जोड्ने आशा लिएको आयोजक समितिका संयोजक पवन मुन्धडा बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्