पुननिर्माणमा खटिएका इन्जीनियरले धमाधम राजीनाम दिन थालेपछि



सन्तोष अधिकारी। गोरखा
भूकम्प पछि पुननिर्माणका लागि खटि गोरखा आएका इञ्जिनियरहरुले धमाधम राजीनामा दिन थालेका छन् । कोहीले गाउँमा गई काम गर्ने वातावरण नभएको भन्दै र कोहीले विभिन्न कारण देखाई राजीनामा पत्र दिने गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठ प्रमुख बताउँछन् ।

‘जिल्लामा इञ्जिनियरको मात्र दरबन्दी १२६ हो अहिले ८५ जना जति मात्रै गोरखा खटिएका छन्’ श्रेष्ठ भन्छन् ‘आजकाल त दिनमा एक÷दुई जनाले राजीनामा दिन थालेका छन् ।’ भुकम्प पछि सरकारले पुननिर्माण प्राधिकरण अन्तरत इञ्जिनियर १२६ जना, ओभरसियर ६० जना र सवओभरसियर पनि ६० नै जना खटाएको थियो । इन्जिनियर श्रेष्ठका अनुसार कात्तिकमा सरकारले निजी आवास पुननिर्माण प्राविधिक निरिक्षण कार्यविधि २०७३ कार्यविधि जारी गरेपछि इन्जिनियरहरुले राजीनामा दिनेक्रम सुरु भएको हो ।
नेपाल सरकारले भूकम्प पिडितका भूकम्प प्रतिरोधी घर निर्माणका लागि दिने राहत रकमको दोस्रो किस्ताको फाराम भर्ने वातावरण नभएर पनि इन्जिनियरहरुले राजीनामा दिनेक्रम बढेको बताइएको छ । दोस्रो किस्ताका लागि तयार भएको फारममा भुकम्प पिडितको घर भएको ठाउँको अक्षांश, देशान्तर र समुन्द्री सतहबाट कति उचाईमा छ भन्ने लगायतका विषयबस्तुहरु भर्न सम्भव नभएर पनि उनीहरुले राजीनामा दिएको डिभिजन प्रमुख श्रेष्ठ बताउँछन् । दोस्रो किस्ताको फारामा गाउँमा खटिएका प्राविधिकलाई भुकम्प पिडितले पुननिर्माण गर्दै गरेको घरको कम्तीमा छ वटा फोटो समेत पठाउनुपर्ने उल्लेख गरिएको छ ।
‘भुकम्प पिडितले बनाएको घर दोस्रो किस्ताको रकम पाउन योग्य छ या छैन भनेर छुट्याउने फाराममा छ या छैन भन्ने टिक लगाउनुपर्छ’ श्रेष्ठ भन्छन् ‘छ या छैन २७ ठाउँमा छ त्यो मध्ये एउटा मात्र छैन भयो भने सम्बन्धीत भूकम्प पिडित दोस्रो किस्ता पाउन अयोग्य हुन्छ । फारम भर्दा समस्या आइपर्ने भन्दै उनीहरुले अहिले देखि नै जागिरबाट राजीनामा दिन थालेको कुरा पनि आएको छ ।’
गाउँमा भूकम्प पिडितहरु भने प्राविधिक नहुँदा र भएका प्राविधिकहरुले फरक फरक निति बताइदिँदा समस्या भएको बताइरहेका छन् । यिनै काम गर्न समस्या हुने बताउँदै नेपाल सरकारले केहि दिन अघि मात्रै प्राविधिकहरुका लागि सेवा सुविधा समेत बढाइदिएको थियो । त्यस्तै पुननिर्माणमा खटिने बेलामा इन्जिनियर तथा प्राविधिकहरुले यस्ता समस्यालाई स्वीकारेर आएपनि उनीहरुले अहिले सोचेजस्तो काम नगर्दा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्