गाउँगाउँमा मौरीपालनको आकर्षण



नरेन्द्र केसी, घोराही, दाङ
त्रिपुर नगरपालिकाकाभित्रका दुर्गम क्षेत्रका रूपमा चिनिने भित्री गाउँमा मौरीपालनप्रति आकर्षण बढेको छ। अन्य ठाउँको तुलनामा यहाँ मौरीका लागि आवश्यक फूल धेरै रहेकाले पनि यहाँ आकर्षण बढी देखिएको हो।
यो क्षेत्रमा मौसमअनुसार तोरी, च्यूरी, रुदेलोलगायतका फूल प्रशस्त पाइने भएकाले मौरीपालनको राम्रो सम्भावना रहेको मौरीपालक कृषक हीराबहादुर बहकारीले जानकारी दिनुभयो। यो क्षेत्रका साजखर्क, कालापहरा, पेदा, नारेवाङ, सिमकोटी, बगाले, शिवपुरी आदि क्षेत्रमा पर्याप्त फूल पाइने भएकाले मौरीपालनको राम्रो सम्भावना छ।

यो क्षेत्रका मौरीपालक किसानले वर्षमा छ पटकसम्म मह काड्ने गरेका छन् महबाट राम्रै आम्दानी गरिरहेका छन्। बहकरी, केशर घर्तीलगायतका किसानले धेरै मौरी पालेका छन् भने अन्य किसानले भर्खरै शुरुआत गर्न थालेका छन्। ‘मैले ६२ घार मौरी पालेको छु, बहकरीले भन्नुभयो– ‘सबै खर्च कटाएर वर्षमा ३ लाख रुपियाँ जति बचाउन सकिन्छ।’

अन्य ठाउँमा तोरी फूल खाएको कात्तिके महलाई राम्रो मान्ने गरिए पनि आफ्नो ठाउँमा रुदेलो खाएको मह अझ राम्रो हुने उहाँले बताउनुभयो। ‘अब फागुनमा मह निकालिन्छ, रुदेलो खाएको मह त कात्तिकेभन्दा पनि धेरै गुणा राम्रो हुन्छ’ –उहाँले भन्नुभयो।

त्यस्तै ४० घार माहुरी पालेका केशर घर्तीले पनि वर्षभरि माहुरीकै स्याहारमा लाग्ने हो भने अरू काम नगरे पनि परिवार पाल्न सकिने बताउनुभयो। ‘सबै खर्च कटाएर वर्षमा २ लाख वचत गर्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘विदेश जानेहरूले पनि कमाउने यति नै हो, घरमा छोराछोरीसँग बसेर पनि गर्न सकिन्छ, मौरीपालनमा राम्रो संभावना छ।’ माथितिर च्यूरीका रुखसहितको जंगल र तल गाउँ भएकाले माहुरी चराउन यो ठाउँमा सजिलो हुने गरेको छ। नजिकका गाउँबाट समेत यो ठाउँमा माहुरी चराउन ल्याउने गरेको स्थानीयले बताए।

पछिल्लो समयमा विभिन्न संस्थाले पनि माहुरीको घारका लागि अनुदान दिन थालेपछि किसान थप उत्साहित भएका छन्। त्यसो त स्थानीय वन समूहले पनि यो वर्ष १५ घर किसानलाई केही सहयोग गरेको छ। यसअघि बाटो नभएकाले यहाँको मह बाहिर पठाउन समस्या भए पनि अब स्थानीयकै पहलमा बाटो बनेपछि मह बाहिर लैजान पनि सहज हुने स्थानीयको अनुमान छ। यो क्षेत्रमा तरकारी र बाख्रापालनको पनि राम्रो सम्भावना रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्