अलपत्र बालिकाको उद्धार



नेपाल समाचारपत्र
भद्रपुर
भारतको सिलगुडीमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ।
झापा भद्रपुर–५ स्थित नयाँ बजार बस्ने १४ वर्षीया सलिया खातुनको साना हातहरू नेपाल नामक संस्था भद्रपुरले उद्धार गरेको हो। उद्धार गरिएको बालिका सलियालाई बिहीबार वडा प्रहरी कार्यालय भद्रपुरको रोहवरमा उनका बुबा समसुल अन्सारीलाई जिम्मा लगाइएको साना हातका कर्मचारी अनिल लिम्बुले जानकारी दिए। माघ २५ गते घरमा झगडा गरी भारत गएकी सलिया रेल चढेर बागडोगरा पुगेकी थिइन्।

वागडोगरा पुगेकी सलिया बाटो बिर्सिएर अलपत्रमा परेपछि भारतीय प्रहरीले उनलाई उद्धार गरी सिनी बालगृह सिलगुडीलाई जिम्मा लगाएका थिए। सोही बालगृहको कर्मचारीसँग सहकार्य गरी भारतमा रहेका साना हात संस्थाको सहयोगमा उनलाई उद्धार गरी नेपाल फर्काइएको लिम्बुले बताए। यता भारतको जलपाइगुडीस्थित कोरक बालगृहमा आधा दर्जन नेपाली बालबालिका अझै पनि उद्धारको पर्खाइमा रहेको यसअघि समाचारमार्फत् सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्